कोही किन माइतीघर आउँछ ? – HamroAwaj


९ माघ, काठमाडौं । काठमाडौंको पश्चिमी कुना कलंकीबाट हातमा लालटिन झुण्ड्याएर हरेक दिन बिहान एक हूल महिलाहरु करिब ६ किलोमिटर पैदल यात्रा गर्दै माइतीघर पुग्छन् । माइतीघरमा दिनभर न्यायको गुहार माग्छन् ।

माइतीघरबाट धेरै टाढा छैन सिंहदरबार । तर, ‘निर्मला कुर्मीलाई न्याय देउ’ भन्दै माइतीघरबाट गुहार लगाइरहेका महिलाको स्वर सुन्दैन सिंहदरबार ।

सिंहदरबारको मौनता बिथोल्न कस्सिएकी रुबी खानलाई आज सोमबार प्रहरीले पक्राउ गर्‍यो । न्याय मागिरहेका महिलाहरुलाई पक्राउ गरेर बहादुरी देखाउने सिंहदरबारलाई लक्षित गर्दै पत्रकार रोहेज खतिवडाले भने, ‘पक्राउ पर्नुपर्ने संसदमा छन् । घरधन्दा गर्नुपर्नेलाई पक्राउ गर्छ सरकार ।’

निर्मला कुर्मीको अपहरण, हत्या र सम्पत्ति हत्याउने घटनाका मुख्य आरोपी बादशाह कुर्मीप्रति लक्षित थियो खतिवडाको टिप्पणी । गृह मन्त्रालायको प्रतिवेदनले नै बादशाह कुर्मीमाथि अनुसन्धान गर्नुपर्ने सुझाउँदा पनि बादशाह यतिखेर लुम्बिनी प्रदेश सभामा सांसद छन् ।

घरधन्दा छाडेर बाँके जिल्लाको नेपालगञ्जबाट न्याय खोज्दै काठमाडौं आइपुगेकी रुबी खान सहित १४ जना महिलाहरु न्यायको आशमा २६ दिनदेखि माइतीघरको चिसो सडकमा बस्न बाध्य छन् ।

माघ २०७५ मा एकल महिला निर्मला कुर्मीको अपहरण र हत्या भयो । उनको सम्पत्ति पनि गायब पारियो । नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीले निर्मलालाई कुटपिट गरेको र निर्मलाको सम्पत्तिको कागजात लगेको प्रमाण छ । यही प्रमाणका आधारमा रुबी खानसहित महिलाहरुले बादशाहमाथि छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

निर्मला कुर्मीका लागि न्याय माग्दै रुबी खानहरु माइतीघरको चिसो सडकमा बसेको यो तेस्रो पटक हो । पहिलो पटक २०७८ असोजमा उनीहरु नेपालगञ्जदेखि २० दिनको पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका थिए ।

माइतीघरमा ४३ दिन बसेपछि सरकारले अनुसन्धान गर्न समिति बनायो । तर, समितिको प्रतिवेदन सार्वजनिक नगरेपछि दोस्रो पटक माइतीघर आइपुगे रुबी खानहरु । दोस्रो पटक प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोलाई अनुसन्धानको जिम्मा लगाउँदै सरकार पन्छियो । ‘जहिले पनि अनुसन्धान हुन्छ भन्दै आश्वासन दिने । तर, अनुसन्धान भने नगर्ने’ रुबी आक्रोश पोख्छिन् ।

आश्वासनको भारीले थिचिन लागेका महिलाहरु अब अनुसन्धानमा उपलब्धि चाहन्छन् । मुद्दालाई अदालत प्रवेश गराउन चाहन्छन् । तर, सुरक्षाकर्मीको लावालस्कर सहित ३० पुसमा माइतीघर पुगेका गृहमन्त्री रवि लामिछानले पनि आश्वासन नै सुनाए ।

न्यायको आशमा हात जोड्दै उभिएका महिलाहरुलाई लामिछाने आश्वस्त पार्न खोज्छन्, ‘यो सहज केस होइन । यो केसलाई कसैले प्रभावित पार्न सक्दैन । कसैले बचाउन सक्दैन, कसैले संरक्षण गर्न सक्दैन । मैले कसैलाई बचाउनु छैन । मैले कसैलाई बचाउनुपर्ने अवस्था आएछ भने यो कुर्सीमा बसिरहनु पर्दैन । मैले गर्दा कुनै कैफियत देखिएछ भने म राजिनामा दिनेछु ।’

यसअघि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले पनि यसैगरी आश्वासन सुनाएका थिए ।

गृहमन्त्रीको कुर्सी दाउमा राख्दै वाचा र आश्वासन बाँडिरहेका लामिछाने तिनै हुन् जसले निर्मला कुर्मीको न्यायका लागि २३ कात्तिक २०७८मा टेलिभिजनको पर्दाबाट खबरदारी गर्दै भनेका थिए, ‘हामी यो विषयलाई निरन्तर फलोअप गर्नेछौं ।’

यतिखेर उनी समाचारको फलोअप मात्र होइन कानुन कार्यान्वयन गराउने निकायको नेतृत्वमा छन् । तर, रुबी खानहरुको अवस्था बदलिएको छैन । लामिछानेले टेलिभिजनमा भने जस्तै, स्थानीय, प्रदेश र संघ सरकार कसैले पनि निर्मलालाई न्याय दिने छाँट देखाएन । त्यसैले त रुबी खानहरु माइतीघर आइपुगे ।

माइतीघर त्यही ठाउँ हो जहाँ न्याय खोज्दै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘हामी यहाँ छौं’ भन्दै धर्ना बसेका थिए । तर, रुबी खानहरुले ‘हामी यहाँ छौ’ भनेको २६ दिन भइसक्दा पनि सरकारले सुनेको र देखेको छैन ।

दिउँसै लालटिन बालेर न्याय र सरकार खोज्न बाध्य पारिएका रुबी खानहरुले निर्मला कुर्मीको घटना अनुसन्धान गर्न न्यायिक आयोग बनाउनुपर्ने । मुद्दा अदालतसम्म पुर्‍याउनुपर्ने माग गरेका छन् ।

२०६६ मा निर्मला कुर्मीका श्रीमानकाे मृत्यु भयो । त्यसपछि कुर्मीको साढे चार बिघा जमिन हत्याउने खेलमा २०६६ को मंसिरमा कुर्मीका दुई छोराको पनि शंकास्पद मृत्यु भयो ।

‘१० दिनको अन्तरालमा दुई छोराकाे शंकास्पद मृत्यु भयो । कुर्मीमाथि कुटपिट भयो, सम्पत्ति लुटियो, अपहरण र हत्या गरियो’ खानको आक्रोश मत्थर हुँदैन, ‘योभन्दा ठूलो अन्याय के हुन्छ ?’

बादशाह विरुद्ध ३० आसोज २०६८ मै उजुरी दिएकी थिइन् । तर, उजुरीको सुनुवाइ भएन । २०७५ मा अपहरित निर्मलाको त्यसपछि हत्या भयो ।

अपनत्व र प्रेमको अर्थ बोक्ने माइतीघरमा बसेर गुहार लगाइरहेका रुबीहरुका लागि यतिखेर माइतीघर पराइ भएको छ । न्याय खोज्ने चौतारी बनेको माइतीघरबाट रुबी खानहरु निर्मला कुर्मीलाई न्याय दिलाउन सरकार खोज्दैछन् ।

नेपालगञ्जबाट माइतीघर पुगेका उनीहरु दिउँसै लालटिन बालेर सरकार र न्याय खोज्न निस्किएका छन् । सरकारको मौनता बिथोल्दै माइतीघरबाट रुबी खानहरु भनिरहेका छन्, ‘निर्मला कुर्मीलाई न्याय देउ ।’





Source link

HamroAwaj

2023-01-23 21:52:33

Leave a Comment