भड्किरहेको निर्मला कुर्मीको आत्मा – HamroAwaj


माघ महिनाको कठ्याङ्ग्रिंदो जाडो; न्याय माग्न नेपालगञ्जदेखि काठमाडौं आएको १४ जनाको टोली लालटिन बालेर २५औं दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन् । तर उनीहरूको मागप्रति ध्यानाकर्षणसम्म जनाउने सरकार भेटिएको छैन ।

लालटिन बालेर सरकारको गौंडा कुरेको धेरै भयो, सरकारले हेरेको छैन । हेरेर पनि देखेजस्तो गर्दैन । सञ्चारमाध्यममा आएका समाचारको सरकारलाई वास्ता छैन । उनीहरूका माग ठूला पनि त छैनन् । मात्र भनिरहेका छन्— निर्मला कुर्मीको हत्याको न्यायिक छानबिन गर ! दोषीलाई कारबाही गर !

२०७७ सालमा शंकास्पद हत्या गरिएकी बाँकेकी निर्मला कुर्मीको न्यायका लागि १४ जनाको टोली यो वर्ष पनि बाँकेको नेपालगञ्जदेखि काठमाडौं आएर सरकार खोजिरहेको छ ।

हरेक दिन दश बजे कलंकीदेखि माइतीघर मण्डलसम्म लालटिन बालेर पैदल आई पाँचबजेसम्म सरकार खोज्नु उनीहरूको दैनिकी जस्तै भएको छ । माइतीघर मण्डलहुँदै सवार हुने सरकारका नेतृत्वकर्ता र जनताका प्रतिनिधि देखेर पनि नदेखेझैं गरिरहेका छन् । यही माइतीघर मण्डलमा भएका धेरै खाले आन्दोलनले देशमा विभिन्न परिवर्तन ल्यायो तर निर्मला कुर्मीहरूले वर्षौं भयो न्याय नपाएको ।

खगेन्द्र फुयाँल

हरेक दिन बिहान ‘आज त सरकारले देख्छ कि’ भन्ने आशाका साथ माइतीघरमा बसिरहँदा बेलुकीपख भारी मन लिएर बासमा फर्कनु परिरहेको छ । निर्मला कुर्मीले न्याय नपाउँदासम्म आन्दोलन नरोक्ने दृढ प्रतिबद्धताका साथ टोली माघको ठण्डी तगिरहेको छ ।

अल्पसंख्यक समुदायमा जन्मेहुर्केकी निर्मला कुर्मीलाई आफ्नै समुदायमा असुरक्षा होला भन्ने सोचेकी पनि थिइनन् । जब २०६२ सालमा उनका श्रीमानको मृत्यु भयो, उनका दुःखका दिन सुरु भए । उनको करोडौंको सम्पत्तिमा दुनियाँको नजर बस्यो ।

पति शोकमा रहे पनि दुई भाइ छोरा हुर्किंदै थिए । श्रीमान नभए पनि तिनै छोराको आड र भरोसामा जिन्दगी कसो नचल्ला त भनेर जसोतसो चित्त बुझाउँदै थिइन् निर्मला ।
२०६६ सालमा उनीमाथि अर्को बज्रपात पर्‍यो । दश दिनको अन्तरमा १८ वर्षको जेठो छोरो र १४ वर्षको कान्छो छोराको मृत्यु भयो । जेठो छोराको मृत्यु हुँदा भाग्यले फेरि पनि ठग्यो भन्ने निर्मलालाई पर्‍यो।

आठ दश दिनको अन्तरमा कान्छो छोराको पनि मृत्यु भएपछि उनले त्यसमा कसैको कर्तुत ठानिन् । उनले आँगनमा जम्मा भएको समाजसँग म यो छोराको दाहसंस्कार गर्दिनँ, मलाई छोराको हत्या गरिएको शंका लागेको छ भनिन् ।
पोस्टमार्टम गर्छु भनिन्, मृत्युबारे थाहा पाउँछु भनिन् । हत्यारालाई चिन्न पाउँ भनिन् । तर, उल्टै उनीमाथि हिंसा गरियो । उनलाई घरभित्र थुनेर खेतको आलीमा शव जलाइयो ।
उत्पीडनको निवेदन लिएर प्रहरी प्रशासनमा पुगिन्, तर सुनुवाइ भएन । शक्तिको आडमा अनाथ एकल महिलाको विषयमाथि प्रशासनले नजरअन्दाज गर्‍यो । उनका निवेदनहरू बेवास्ता गरिए । उनीमाथि पटक–पटक कुटपिट भइरह्यो ।

२०६६ साल माघमा आफूहरूको सम्पर्कमा आउँदा निर्मला कुर्मीले भनेका यी शब्दहरू अझै सम्झना छ, अधिकारकर्मी रुबी खानलाई । निर्मलाका एक्ला दिनहरूमा उनीमाथि निरन्तर हिंसा जारी रह्यो । अपहरण गरेर सम्पत्ति हिनामिना समेत गरिएको अधिकारकर्मी खानले सुनाइन् ।

२०७७ सालमा निर्मला कुर्मीको पनि शंकास्पद हत्या भयो । जिल्लामा रहेका अधिकारवादी संस्थाहरू महिला सञ्जाल, महिला अधिकार मञ्च लगायतको पहलमा पटक–पटक जाहेरी दिंदा जिल्ला प्रशासनले असहयोग गर्ने, जाहेरी लुकाउने जस्ता कार्य गरेको खान बताउँछिन् ।

निर्मलाले रुबी खानसँगको भेटमा आफूलाई कुटपिट गर्ने व्यक्तिका बारेमा जानकारी गराइरहेकी थिइन् । पटक–पटकको प्रयासपछि २०७७ साल चैतमा दिएको निवेदन जिल्ला प्रशासनले दर्ता त गर्‍यो तर अनुसन्धान भएन । २०७८ सम्म अनुसन्धान भइरहेको भनिएको उक्त जाहेरीप्रति अभियुक्तलाई बचाउने काम भयो ।

पक्राउ परेका व्यक्तिलाई शक्तिको आडमा गुपचुप छाड्ने काम भयो । हाल उक्त निवेदन खारेजी हुने अभिव्यक्ति जिल्ला प्रशासनले दिन थालेको अधिकारकर्मी खान बताउँछिन् ।महिला तथा बालबालिकाको मानवअधिकार जस्तो संवेदनशील विषयमा किन जिल्ला प्रशासनलगायतका सम्बन्धित कार्यालयको उदासीनता देखिंदैछ ? खान प्रतिप्रश्न गर्छिन् ।
यही सरकारी उदासीनताका विरुद्ध र निर्मला कुर्मीको न्यायका लागि उनीहरूको तेस्रो चरणको आन्दोलन जारी छ ।

जब पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको प्रधानमन्त्री नियुक्त हुन्छन्, मलाई भने नेपाल टेलिभिजनको एक सय तीसौं तलाको याद आउँछ । मनोज गजुरेलले निर्माण गरेको ‘फोटोकपी’ नामको प्रहसनमा दश वर्षको अवधिमा देशको कायापलट भएको नेपालको दृश्य देखाइएको छ । उक्त हास्य प्रहसनमा प्रचण्ड प्रधानमन्त्रीको दशवर्षे कार्यकालमा देशले चरम विकास गरी विदेशी मजदुरहरू नेपालमा काम गर्न आएको देखाइएको छ ।

मानवअधिकार र सामाजिक न्यायका समस्या नभएपछि सरकार पशु अधिकारको हितमा लागेको देखाइन्छ । सबै जाति, वर्ग र समुदायको अधिकार र न्यायका लागि दश वर्ष क्रान्ति हाँकेका प्रचण्ड प्रधानमन्त्री हुँदा त निर्माला कुर्मीहरूले न्याय पाउनुपर्ने जस्तो लाग्छ ।

सुशासन, अनियमितता र भुईंमान्छेका विषयवस्तुलाई सञ्चारमाध्यममा धारावाहिक प्रस्तुत गर्ने तिनै सञ्चारकर्मी रवि यसपटक गृहमन्त्री छन् । यो घटनाको सत्यतथ्य र न्यायिक छानबिन हुँदैन भन्ने कसलाई पो लागेको होला ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यसपटक जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रधानमन्त्री भएको भनिरहनुभएको छ । विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्या राखिरहेका छन् ।

मिटरब्याजी पीडितले पनि केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएर गृह जिल्ला फर्केका छन् ।

तपाईंहरूको प्रधानमन्त्रीलाई भेट्ने योजना छैन ? भन्ने प्रश्नमा खान भन्छिन्, ‘प्रधानमन्त्री आफैं आउनुहुन्न, हामीलाई जाने बाटो छैन । उहाँलाई भेट्न पिएको सम्पर्क नम्बर हामीसँग छैन । सिंहदरबार भित्र हामीलाई पहुँच छैन !’





Source link

HamroAwaj

2023-01-24 12:53:15

Leave a Comment