समाजको कठघरा – HamroAwaj


अँ, मूल सडककै ठूलो घरमा उसको एउटा कोठा छ । कोठासँग घामको दुश्मनी छ क्यारे घामले झ्यालसम्म पनि चिहाएर कहिल्यै हेरेन । हुन त, उसलाई घाम लागेको पारिलो दिनभन्दा झमझम पानी परेको चिसो अँध्यारो दिन खुबै मन पर्छ । नजानिंदो किसिमले अँध्यारोसँग उसको प्रेम छ । र त दिउँसै  झ्याल, ढोकामा पर्दा लगाएर बस्न रुचाउँछे ।

कोठा सफा, चिटिक्क मिलेको छ । दुई जना मज्जाले निदाउन मिल्ने डबल बेड, त्यसको छेउमै सानो दराज छ । दराजमाथि फेरि कपडाको अर्को ब्याग, दराजको छेउमै धुने कपडाहरु कोचेर राखिएको प्लास्टिकको बकेट । झट्ट हेर्दा अनुमान लगाउन सकिन्छ ऊ कपडाको धेरै सौखिन छे जस्तो । बकेटको छेउमै काठको टेबलमाथि छ बत्तीस इन्चे पुरानो टीभी । जहाँ टीभी च्यानलभन्दा बढी युट्युबबाट बज्ने गर्छन् नेपाली। हिन्दी र अंग्रेजी गीतहरु ।

ढोकाको छेउमा एउटा ठूलो ऐना छ, जहाँ उभिएर उसले आफ्नो अनुहारको होइन जीवनको प्रतिबिम्ब हेरिरहे झैं लाग्छ । हप्तौं काइँयो नपरेर फुङ्ग उडेको कपाल, अनुहारमा रगतै नभएजस्तो सेतो फुस्रो अनुहार, गाढा उदासी आँखा, माघको ठण्डीले चिसो भएर कलेंटी परेका काला ओठ । कैयौंपठक उसको प्रेमीले उसलाई नभनेको होइन, तिमीलाई हल्का पिंक ओठहरु खुबै सुहाउँछन् । तर शृंगारको नाममा कुनै पनि रंगका लिपिस्टिक उसको ओठसम्म कहिल्यै पुगेनन् । पुगेका छन् त केवल प्रेमीका ओठ र चुरोटहरु ।

कोठाको छेउमै छ एउटा बाँसले बनेको किताब र्‍याक । त्यसभरि छन् पढिसकेका र पढ्न बाँकी फिक्सन, पोएट्री र रिलिजियस किताबहरु । कति किताब भुईंमै लम्पसार परेका छन् । कोठाको भित्तामा झुण्डाइएको फ्रेममा लेखिएको छ, म शून्यमा शून्यसरी बिलाएँ । (लक्ष्मीप्रसाद देवकोटा)

हुन त आजभोलि कति दिन भइसक्यो उसको मगज ठीक नभएको । उसले चिनेका कति दिदी, बहिनी, साथी, काकी, माइजू, सानीआमा, ठूलीआमाका उसका जस्तै कथाहरु छन् । जहाँ कति प्रेमको नाममा लुटिए, कति बाध्यतामा, कति डरमा लुटिए, कति त उस्तै आफूमाथि के भइरहेको छ भन्ने थाहै नहुने उमेरमा लुटिए ।

रात निकै लम्बिंसक्दा पनि आज उसलाई निद्रा पर्दैन । उठेर द बिट्सको ‘ब्ल्याक बड सिङ्गिङ इन डेड अफ नाइट’ सुन्दै चुरोट सल्काउँछे । चुरोट र गीत एकैचोटि सकिन्छ । किन हो आज गीत र चुरोट दुवैले उसको बेचैन मन शान्त पार्न सकेन । बरु रात गाढा अँध्यारो हुँदै  गएजसरी उसको मन पनि एकतमासको हुँदै जान्छ । वर्षौं पहिले घटेको कुनै अप्रिय घटनाले बेलाबेलामा उसलाई ट्रमा हुने गर्छ । ऊ ती कुराहरु बिर्सिदिन खोज्ने, जीवनमा फेरि त्यस्ता अप्रिय घटना कसैलाई नघटोस् भन्ने सोच्छे तर बेलाबेला समाचारको हेडलाइन बनेर आउने ‘छ महिनाकी बालिका बलात्कृत’, ‘९० वर्षकी वृद्धा आफ्नै देवर पर्नेबाट बलात्कृत’, अनि ‘आफ्नै बाबुबाट छोरीको बलात्कार गरी हत्या’ जस्ता समाचार ऊ पूरै पढ्न, सुन्न पनि सक्दिन ।

टाटा बसिसकेको घाउमा फेरि नुनचुक छर्किए जसरी चहर्‍याएर जाने गर्छन् यस्ता समाचारले उसलाई । हिजो भर्खरै त हो नि उसकी एकदमै मिल्ने साथी उसलाई गहभरि आँसु बोकेर भेट्न आएकी । उसलाई थाहा थियो, उसकी साथी मामाको छोरासँग रुम लिएर पढ्न बसेकी तर कहाँ थाहा थियो र ? आफ्नै मामाको छोराले पनि ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्छ भन्ने कुरा । उसलाई एकैछिनमा यो पुरुष भन्ने शब्ददेखि नै घृणा जागेर आउँछ । उसले चिनेका पुरुषहरु साथी, आफन्त, बाबा, काका, मामा, प्रेमी सबैदेखि । फेरि एकैछिनमा सम्हालिन्छे सबै त उस्तै हुँदैनन् नि है ? बोरामा एउटा आलु कुहिएको भेटेर सबै आलु खराब छ भन्ने यो मेरो कस्तो मानसिकता ? उसलाई आफैंदेखि रिस उठ्छ ।

हुन त आजभोलि कति दिन भइसक्यो उसको मगज ठीक नभएको । उसले चिनेका कति दिदी, बहिनी, साथी, काकी, माइजू, सानीआमा, ठूलीआमाका उसका जस्तै कथाहरु छन् । जहाँ कति प्रेमको नाममा लुटिए, कति बाध्यतामा, कति डरमा लुटिए, कति त उस्तै आफूमाथि के भइरहेको छ भन्ने थाहै नहुने उमेरमा लुटिए ।

यहाँ ऊजस्तै कति हजार युवती र महिलाका यस्ता अव्यक्त कथा छन् जुन कहिल्यै परिवार, घर र समाजको कठघरा नाघेर बाहिर निस्किन सकेनन् । उसको मनमा बेलाबेला प्रश्न उठ्ने गर्छ, के महिला भएर जन्मिनु दोष हो ? झट्ट उसलाई भारतीय लेखक डा. प्रतिभा रायद्वारा लिखित ‘याज्ञसेनी’ किताबको याद आउँछ । जहाँ द्रौपदी दिक्क भएर श्रीकृष्णलाई भनेकी हुन्छिन् । हे प्रभु नारीलाई यति सुन्दर नबनाऊ, यदि बनाउनु नै छ भने पनि पुरुषलाई यतिधेरै कामुक नबनाऊ ।’

के आर्यावर्तकै श्यामा युवती (यहाँ श्यामाको अर्थ लाग्छ सुन्दर स्त्री) विश्वसुन्दरी भएर जन्मिनु द्रौपदीको दोष थियो त ? तपाईंलाई लाग्छ होला आर्यावर्तको सबैभन्दा सुन्दर र शक्तिशाली नारी प्रात्र कृष्णा हो । तर उसलाई लाग्छ यो जगतकै दुःखी नारी पात्र हो द्रौपदी । तपाईं आफ्नो जीवनमा यो कल्पना गर्नसक्नुहुन्छ, कसैको भार्या भएर उसको घरमा भित्रिन जाँदा उसको दाजुभाइको पनि भार्या बन्नुपर्ने । यो पल कस्तो हुँदो हो ? आफूमाथि आकाश खसेजस्तो, टेकेको जमिन भासिएजस्तो । भयो द्रौपदीको बारेमा धेरै नजाउँ, उसलाई आजभोलि धेरै कुरा गर्न मन लाग्दैन । मैले पहिले नै भनेको थिएँ नि, उसको मगज ठीक छैन ।

रातको तेस्रो प्रहर सुरु भइसक्दा पनि ऊ अझै निदाउन सकेकी छैन । यस्ता समाचारले उसका कति रातका निद्रा हराएका छन् । अनिंदो रातसँगै चुरोटका कैयौं बट्टा सकिएका छन् उसलाई जस्तै कैयौं महिलालाई यस्तो हुँदो हो, जहाँ आफूमाथि भएको अन्यायलाई चुपचाप मनको सन्दुकमा लाल्चा मारेर कहिल्यै नखोल्ने गरी थन्काएका हुन्छन् । जहाँ न्यायको लागि लडिरहँदा पनि उल्टो आफूमाथि नै अनेक लाञ्छना लगाइदिन्छन् । यो समाजले महिलालाई नै अनेक दोष देखाइदिन्छ । ती सुन्नै अनि भन्नै नसकिने अनेक गाली र तिरस्कारको पोको बोकेर हिंडिरहँदा कति गाह्रो हुँदो हो ? उनीहरुले कहिले न्याय पाउने ? र ती भर्खरै जन्मिंदै गरेका कलिला नानीहरु जहाँ उनीहरुले आफ्नै घर, परिवारबाटै डराउनुपर्ने हुन्छ । उनीहरु निर्धक्क भएर डुल्न, घुम्न, हुर्किन पाउने दिन कहिले आउने हो ? हुर्किएकी छोरी घर फर्किन अलिकति ढिला हुनेबित्तिकै आमाबाबु डराएर फोन गर्नुपर्ने अवस्थाको अन्त्य कहिले हुने हो ?



Source link

HamroAwaj

2023-01-26 14:10:02

Leave a Comment