सुपरस्टार अनमोल – HamroAwaj


होसियारीसाथ आँखा खोल्दा उसलाई आफू घनघोर जंगलको माझमा छु भन्ने पक्का भयो । उसको शरीर उत्तानो परेको थियो र माथितिर हेर्दा अजंगका रुखका हाँगाबिंगा फैलिएका देखिन्थे । अपरान्हको घामको सुनौलो प्रकाश रुखका स-साना चेपबाट छिरेर उसको अनुहारमा स्पर्श गरेको थियो ।

आकाशतिर एकोहोरिएका उसलाई अब पो ख्याल आयो, आफ्नो ज्यानको ।

सुस्तरी आफैंलाई हेर्ने चेष्टा त गर्‍यो तर टाउको उठाउन सकेन । कष्टसाथ कोल्टे फेरेर हेर्दा एउटा ढुंगाको कापमा नली खुट्टा अल्झिएको देख्यो, जुन पानीमा डुबेको थियो । पैतालामा स-साना माछाहरु सल्बलाएको प्रष्ट आभास हुन्थ्यो ।

उसले थोरै टाउको उठाएर हेर्‍यो, सामुन्नेमा पहाडी खोलो बेपत्तासँग उर्लिएर निकै अग्लो छाँगाबाट झरेको देखियो । त्यो खोंचबाट सेता भुवाझैं पानीका कणहरु माथितिर उडिरहेका छन्, जसमा घामको किरण मिसिएर इन्द्रेणी बनेको थियो ।

सुस्त हावासँगै उडेर आएको पानीका छिटाहरुले जब उनको अनुहार लपक्कै भिजायो, त्यो अत्यासलाग्दो पहराबाट कसो उछिट्टिएनछु भन्ने हठात् सोचले मन चिसो भयो । ऊ सकी नसकी चलमलायो र ढाडको बलमा शरीरलाई केही परसम्म घिसार्‍यो । खुट्टा सुन्निएर नीलो-कालो भएको थियो । दाहिने पाखुरामा गहिरो चोट थियो । आफू त्यहाँ कसरी बजारिएँ र बेहोस भएँ भन्ने कुरा उनले तत्काल सोच्न सकेन । तर यतिबेलासम्म घाउ केही ओभाएको थियो । रगत उति बगेको थिएन ।

यति नै बेला उसले आफूतिर अनौठो जीव आइरहेको देख्यो । उसलाई त्यो डाइनोसरजस्तै लाग्यो तर निकै सानो । त्यसको शरीर पत्र–पत्र खबटाले ढाकिएको थियो । त्यो जीवका धारिलो नङ्ग्राले चिथोर्दै आफ्नो शरीरको मासु लुछ्नेछ भन्ने भयले उसको मुटुको चाल तीव्र भयो । अचम्म त के भइदियो भने त्यस जीव उसकै नजिक आएर पनि कुनै दख्खल नदिई आफ्नो बाटो लाग्यो ।

उसले ढुक्कले सास फेर्न पाएकै थिएन, कम्मरमाथि केही सल्बलाएझैं लाग्यो । थोरै टाउको उठाएर हेर्दा रातो शिर भएको डरलाग्दो छेपारो देख्यो । त्यो उसले यसअघि देख्दै आएको छेपारोभन्दा निकै ठूलो थियो ।

ऊ जोडले चिच्याउन खोज्यो । तर स्वर कतै भासिएझैं भयो । आफूले कति मेनतले सुगठित बनाएको ज्यानलाई यति मामुली जीवहरुले क्रीडास्थल बनाइरहँदा उनमा घिन, घृणा र भय एकसाथ पैदा भएको थियो । तर यतिबेला ऊ कतिसम्म निरीह थियो भने आफ्नै ओठसम्म घिस्रिरहेका झुसिलकीरालाई पन्छाउन सकिरहेको थिएन ।

घाम पूरा ओझेल भइसकेको थियो र जमिन चिसिंदै गएको थियो । झ्याउँकिरीको एकोहोरो ध्वनिले त्यो एकलासे जंगल विरक्तलाग्दो बनेको थियो । पूर्ववत् दिनहरु हुँदो हो त उसले यतिबेला आफ्नो सहयोगीलाई एक कप तात्तातो कफी मगाएर चुरोट सल्काइसकेको हुन्थ्यो ।

त्यसपछि न्यानो र सुगन्धित पानीले टिलपिल भएको बाथटपमा आनन्दसाथ बसेर आफ्ना लागि आएका दर्जनौं स्क्रिप्टमध्ये कुनै एउटामा आँखा दौडाइरहेको हुन्थ्यो । बितेको चार वर्षयता उसलाई सिनेमामा लिन हत्ते गर्ने निर्माता-निर्देशकको ताँती लामो थियो । आफ्ना लागि लेखिएका स्क्रिप्टहरु पढ्न उसले भ्याइरहेको थिएन ।

साँझको समय उसलाई अत्यन्तै प्रेमिल र मादक लाग्थ्यो । आंशिक खुलेका ठूलाठूला काँचका झ्याल र मन्द बतासमा लहराइरहेका पारदर्शी पर्दाकै सम्मुखमा उभिएर अँध्यारोले छोप्दै गएको क्षितिजलाई नियाल्दा उसलाई बिछट्टै चञ्चलताले रसिक बनाइदिन्थ्यो । अनि तारापुञ्जझैं धपक्क बलेका सहरतर्फ निर्निमेष दृष्टि बिछ्याएर ऊ उमंगमय भावमा आफैंलाई भनिरहेको हुनथ्यो, ‘यो युगले अधीरतासाथ तिमीलाई पर्खिरहेको छ ।’

०००

हावाले सोहोरेर ल्याएको पात-पतिंगरले उसको सम्पूर्ण ज्यान पुरियो । आकाशमा चट्याङका झिल्को देखियो । रात झन् झन् गाढा हुँदै थियो । खोला र झरनाको ध्वनि कर्कश सुनिंदै थियो । भयानक गड्याङ-गुडुङ आवाजसँगै क्षणभरमै हुरी र झरी पर्ने छाँट थियो ।

उसले अनुहारभरि लागेको माटो टक्टकायो । कानभित्र कमिला वा कुनौ मसिनो कीराझैं सल्बलायो । तर उसलाई कान कोट्याइरहने समय थिएन । ऊ बलजफ्ती घिस्रियो । यसरी घिस्रिंदा ढुंगामा रगडिएर ओभाइसकेको घाउबाट रगत बग्न थाल्यो ।

सानो भित्तोमा अडेसिएर उसले आफ्नो घाउ सुम्सुमायो । आकाशबाट खसेको पानीको थोपाले घाउ चहर्‍याउन थालेको थियो । ऊ केही परसम्म घिस्रियो । तर त्यहाँ पानीको दलदल छ भन्ने उनलाई हेक्का भएन । शरीर हिलोमा लपेटियो ।

एकपटक छायांकनका सिलसिलामा केरला पुगेको बेला उसले मड थेरापी गराएको थियो । नग्न शरीरमा माटो लेपन गरिरहँदा त्यसबाट सुगन्ध र आनन्द एकसाथ अनुभूत गरेको थियो । तर आज उसलाई त आफ्नै शरीर दिगमिग लागिरहेको थियो ।

त्यसबखत मड थेरापीपछि ज्यान ताजा अनि फूर्ति भएको थियो । सोही साँझ ऊ गोवा पुगेर जलविहार गर्दै समुन्द्री व्यञ्जन र रैथाने पेयको चुस्की लिएको थियो । अनि एक सुन्दरीलाई साथमा लिएर मध्यरात लङ ड्राइभमा निस्किएका थिए ।

ऊ जीवनलाई भरपुर भोग गर्नुपर्छ भन्ने ठान्थ्यो । ऊसँग एउटा गोप्य डायरी थियो, जसमा भोटेकोसी खोंचमा बन्जी जम्प गर्नेदेखि न्युजिल्याण्डको फक्स ग्लेसियरबाट स्काइडाइभ गर्ने बुँदागत टिपोट थियो । भियतनामको हो ची मिन्ह सहरमा गएर एकदमै अनौठो परिकार चाख्ने, थाइल्याण्डको फुकेटमा लामो बिदा मनाउँदै वात्सायनले ‘कामसूत्र’मा भने अनुसारको यौन आसनहरुको अभ्यास गर्ने, लस भेगासमा पुगेर बेफिक्री जुवा खेल्नेसम्मको तामसिक योजना त्यो गोप्य डायरीमा समेटिएको थियो ।

ऊ खाँट्टी कृष्णभक्त थियो र उदाउँदो सूर्यसँगै मन्त्रोच्चारण गरेर उसको दैनिकी प्रारम्भ हुन्थ्यो । एकबारको जुनीमा भगवान कृष्णले झैं सप्तरंगी जीवन बाँच्नुपर्छ भन्नेमा ऊ ढुक्क थियो ।

०००

झरी अरु उत्ताउलो बन्दै थियो र खोला बढेर उनको खुट्टासम्म आइपुगेको थियो । झरनाको गडगडाहट भयानक सुनिंदै थियो । ऊ भएभरको तागत लगाएर निकै माथिसम्म पुग्यो ।

यति नै बेला कुनै जनावरको जस्तै अस्पष्ट आवाज सुन्यो उसले । केही सर्तक भयो र आवाज आएतिर दृष्टि लगायो । ठूलो ओडारमा कुनै जन्तुको अस्पष्ट आकृति देखेपछि उसलाई त्रास होइन, बरु आड मिलेजस्तै भयो ।

उसले ठिटलाग्दो ढंगले फेरि त्यो जन्तु भएतर्फ हेर्‍यो । उसलाई अचम्म के लाग्यो भने त्यहाँ आगोको रापजस्तो ज्योति देखियो । अब ऊ ओडार भएतिर घिस्रिन थाल्यो । निष्पट अँध्यारो रात थियो र जमिनमा दलदल हिलो थियो । पानीमा पौडिए जसरी ऊ हिलोमा डुब्दै जसोतसो ओडारको सम्मुखमा पुग्यो । यतिबेला उसले देख्यो त्यो ओडारमा रुखका स्याउलाले बारबेर गरिएको सानो झुप्रो छ । सम्भवतः त्यसभित्र अरु कोही छ ।
‘को छ ?’

यो शब्द उसले धेरै जोडले बोलेको थियो तर आवाज एकदमै सानो आयो । प्रतिक्रियामा उही जन्तु एकोहोरो कराउनेबाहेक अरु केही सुनिएन । उसले झुप्रोको आडैमा त्यो जन्तुलाई देख्यो । ऊ कति पनि नडराई जन्तुको नजिक पुग्यो । त्यो कुकुर रहेछ, एकदमै च्याँखुरे । कुकुरले त्यसको टाङमुनि पुच्छर लुकायो र टोक्न झम्टिएलाझैं गरी घुर्न थाल्यो ।

एकअर्काको आमनेसामने दुवै लड्न तयार भए जसरी सतर्क देखिए ।

यति नै बेला नजिक कतै भयंकर पहिरो गएको आवाज सुनियो । जमिनमा कम्पन आयो । उनीहरु दुवै झटारिएर झुप्रोभित्र पुगे ।

झुप्रोभित्र रुखको ठूलो मुढोमा आगो सल्काइएको थियो र त्यसको रापले सबैतिर न्यानो थियो । कुकुर कहाँ छ भनी उसले यताउता आँखा दौडायो । केही परको अँध्यारो कुनोमा कुकुरको आँखा टल्किएको देख्यो । ठिम्याएर हेर्दा कुकुर लुसुक्क बसेकै ठाउँमा कुनै मान्छेझैं देखियो तर चुपचाप सुतिरहेको ।

‘हेलो।।’ उसले आत्मीय भावमा बोलायो ।

तर जवाफ आएन । दुई-चार पटक उसैगरी बोलाउँदा पनि चालचुल नभएपछि अनायास उनको मुखबाट क्रोध भरिएको निकै चर्को आवाज निस्कियो, ‘हेलो ।’

चिच्याहट सुनेर कुकुर घुर्न लाग्यो । उसले बलिरहेको एउटा अगुल्टो उठायो र बिस्तारै मान्छे भएतिर गयो । ऊ त्यो मान्छेको नजिक मात्र के पुगेको थियो, चट्याङको भयानक गर्जनले जमिन नै हल्लियो । तत्कालै हुरीको बेग चल्यो । यतिबेला उसको अगुल्टोमा आगो बल्यो र त्यसैको उज्यालोमा देखियो एक अधवैंसे युवतीको निर्जीव अनुहार ।

उनले एकाध थ्रिलर सिनेमामा काम गरेको थियो । त्यसबेला उसको भावभंगीमामा डर पैदा गर्न निर्देशकले यस्तै भयानक परिस्थितिहरु बताइरहेका हुन्थे, जहाँ मूल पात्र मसान घाटमा वीभत्स लाससँग बस्नुपर्ने बाध्यता आइलागेको छ । त्यही दृश्य कल्पेर ऊ डरले थुरथुर भएको अभिनय गर्ने यत्न गर्थ्यो ।

सिनेमामा उनले अनेक चरित्रमा आफूलाई पेस गरिसकेको थियो, कहिले अर्बपति पिताका पुल्पुलिएका तन्नेरी त कहिले पूख्र्यौली ऋणले थिचिएर आफ्नो जीवन नै बन्धकी राख्न विवश एउटा निरीह छोरो । कहिले गायक बन्न संघर्ष गरिरहेको मामुली केटो त कहिले सहरका गल्लीहरुमा भोकभोकै भौतारिएको एक गरिब । तर वास्तविकतामा उसले यस्तो उतारचढाव कहिल्यै भोगेको थिएन ।

भोक, दुखाइ, अपहेलना, कष्ट, अभाव कस्तो हुन्छ रु ऊसँग एकरत्ति अनुभव थिएन । जबकि सिनेमामा उसलाई यस्तै चरित्र दिइन्थ्यो र भोकाएको, दुःख पाएको कल्पेर जानी–नजानी अभिनय गरिरहेको हुन्थ्यो । आखिर जे भएपनि सरस्वती उसको दाहिना थिइन् । जति सिनेमा खेल्थ्यो ब्लकबस्टर हुन्थ्यो ।

निर्देशक–निर्माताले उसलाई ‘पैसा छाप्ने मेसिन’ भनी व्याख्या गर्थे र ऊमाथि पचासौं लाख खन्याउन पनि कति कन्जुस्याइँ गर्दैनथे । ठूलाठूला कम्पनीले आफ्नो उत्पादनको बजार प्रवर्द्धन गर्न उसैलाई ब्रान्ड एम्बास्डर बनाउन हत्ते गर्थे । उसको बैंक मौज्दात करोडको अंकले बढ्दै थियो ।

करिअरको पूवार्द्धमा पाएको अपार सफलताले उसलाई अरु बढी स्वप्निल बनाउँदै लगेको थियो । तर आफ्नो लागि ऊसँग समय अब कम हुँदै थियो ।

कतिसम्म भने, व्यस्त दैनिकीबाट उम्किएर उसले बाइक राइडिङ गर्न पाइरहेको थिएन । तीव्र गतिमा हुँइकिएर अफरोड यात्रामा निस्कनु उसको सबैभन्दा ठूलो सौख थियो । खासमा भन्ने हो भने ऊ बाइकको औधि सौखिन थियो र ग्यारेजमा आधा दर्जन बढी थरीथरी बाइकको संग्रह नै थियो ।

आफ्नै छिमलका युवाहरुको बाइकर्स क्लबमा ऊ पनि सामेल थियो । उनीहरु सप्ताहन्त बाइक लिएर लामो यात्रामा निस्किएका हुन्थे । कुन हप्ता कस्तो बाइक चढ्ने र कुन राइडिङ गियर लगाउने भन्ने पहिले नै तय हुन्थ्यो ।

दश–बाह्रवटा एकनासको बाइक लस्कर लागेर सडकमा निस्कँदा आसपासका मान्छेलाई रमिता हुन्थ्यो । तर त्यही बाइक राइडरको भीडमा सुपरस्टार अनमोल पनि छ भन्ने पत्तो पाउँदैनथे । किनभने ऊ मास्क र हेलमेटले आफूलाई लुकाएर बाइकमा बत्तिएको हुन्थ्यो ।

०००

कुकुर भुक्नु, हावाको झोंका आउनु र मेघ गर्जनु एकसाथ भयो । ऊ तर्सिएर आगो भएको ठाउँसम्म पुग्यो । त्यहीं बसौं कि कतै भागौं ? दोमन भयो । बिस्तारै बिस्तारै बाहिर निस्कने चेष्टा गर्‍यो ।

बाहिर सर्वत्र अँध्यारो थियो । चिसो हावा, कालो रात अनि झरीको कर्कश ध्वनिले उसलाई एकोहोरो बनायो । ठीक यही क्षण उसले आफ्नो गर्दन नजिक तातो सास महसुस गर्‍यो र पाखुरामा धारिलो नङ्ग्राले तानेजस्तै लाग्यो । आत्तिएर ऊ पछाडि फर्कियो । लुसुक्कै त्यही कुकुर उनको नजिक आइपुगेको रहेछ ।

उसले सानो ढुंगा टिपेर हिर्काउन खोज्यो । तर कुकुर थचक्क त्यहीं बसेर टुलुटुलु उसैलाई हेर्न थाल्यो । उसले बिस्तारै कुकुरको टाउकोमा हात पु¥याएर मुसार्न थाल्यो । कुकुरको शरीरमा एक किसिमको न्यानोपन अनुभव ग¥यो । अनि उसले तुरुन्तै कुकुरलाई आफूतिर तानेर स्नेहपूर्वक अंगालो हाल्यो ।

मध्यरात गुज्रिसकेको थियो । झरी मत्थर हुँदै थियो ।

निद्रा, भोक, थकान, दुखाइले उसलाई निकै शिथिल बनाइसकेको थियो । कतिबेला गहिरो निद्रामा प¥यो, पत्तो पाएन । ब्युँझदा उसले आफूलाई अर्कै लोकमा भएको अनुभूत गर्‍यो ।

झरी थामिएको थियो । मौसम खुला थियो । जंगलमा घामको कलिलो प्रकाश छरिएको थियो । रुखका हाँगाहरुमा थरीथरी सुनाखरी फूल लत्रिएका देखिन्थे । त्यसको सुगन्ध सर्वत्र फैलिएको थियो ।

झरनाबाट आकाशतर्फ उठिरहेको भुवाझैं पानीका कण र त्यसमाथि परेको इन्द्रेणी कम्ता मोहक देखिंदैनथ्यो । त्यसैको पृष्ठभूमिमा रंगी-बिरंगी पुतली नाचिरहेका थिए । चराहरुको चिर्बिर आवाज संगीतमय लाग्थ्यो ।

प्रकृतिको यो अद्भूत रुपरंग देखेर ऊ उमंगले निकैबेर मग्न भयो ।

अब झुप्रोभित्रको दृश्य पनि राम्ररी नियाल्न सकिन्थ्यो । सबैभन्दा पहिले त उसको दृष्टि त्यही युवतीको लासमाथि प¥यो, जो झट्ट हेर्दा मस्त निद्रामा भएझैं देखिन्थिन् । स्लिपिङ ब्यागले उनको आधाजसो शरीर ढाकेको थियो । भुईंमा रुखका स्याउला र त्यसमाथि म्याट्रेस ओछ्याइएको थियो । त्यही केही भाँडावर्तन, पुरानो झोला, केही औजार यत्रतत्र थियो ।

खैरो रंगको ख्याउटे कुकुर उनै युवतीको शिरतर्फ टुक्रुक्क बसेको थियो ।

आगोको राप उस्तै थियो । आगोमाथि परम्परागत कित्लीमा केही पकाइएको थियो । दुवै हात र घुँडाको बलले ऊ कष्टसाथ उठ्यो र युवती भएतिर गयो । युवतीको अनुहारको रंग फुंग उडेको थियो, ओठ कलेटी परेको थियो ।

युवतीको सिरानी नजिक एउटा क्यामेरा र केही थान लेन्स जतनसाथ राखिएको थियो । त्यहीं चाङ मिलाएर राखिएका मोटा पुस्तक र डायरी पनि देखियो । अनायासै उसको हात डायरीतर्फ लम्कियो । त्यसको आवरणमा मोटो अक्षरले खिपेर लेखिएको थियो, ‘गोप्य डायरी’ ।

उसले डायरीको पाना पल्टाउने आँट गरेन । अब ऊ पुस्तकको चाङ खोतल्न थाल्यो । केही पुस्तक जीवन दर्शनका थिए, जसमा उसले कुनै चाख मानेन । बाँकी चराचुरुङ्गीका थिए । पुस्तक उठाएर हेर्दै गर्दा उसले पैसाको नयाँ-नयाँ नोट छरिएको देख्यो । पुस्तककै चाङमा पैसाको एउटा बिटा पनि राखिएको रहेछ ।

पुस्तक हुत्याएर हत्त न पत्त ऊ पैसा बटुल्न थाल्यो । थाहा छैन, उसले कति दिनदेखि पैसा छुन पाएको छैन । केही पैसा उडेर आगोमा सल्किन लागेको थियो, उसले आगोको पर्वाह नगरी पैसा टिप्यो । ढुंगाको कापमा छिरेको पैसा निकाल्न खोज्दा झण्डै हुर्रिएर लडेन । आफूलाई सम्हाल्दै उसले जसोतसो भएजति पैसा जम्मा गर्‍यो । पैसालाई निकैबेर नियालेर हेरेपछि उसले त्यसलाई नाककै छेउमा लगेर सुँघ्यो । अनि पैसालाई यसरी जतनसाथ राख्यो, जति उसले आफ्नो ज्यानको ख्याल गरिरहेको थिएन ।

तर खै किन हो ऊ अकस्मात् उठ्यो र एकदमै विस्मयको भावमा भन्यो, ‘निर्जन जंगलमा यो पैसाको के मूल्य हुन्छ रु’ त्यत्तिका दुःखसाथ बटुलेका सबै पैसा फेरि उसले हावामा उडाइदियो ।

पछिल्ला दिनमा ऊ पैसामुखी हुँदै गएको थियो । हप्तैपिच्छे ऊ आफ्नो बैंक मौज्दात कति भयो भनी आफ्ना म्यानेजरलाई सोधिरहेको हुन्थ्यो । एक साँझ तारेको काजु र वाइनको स्वाद लिंदै उसले म्यानेजरलाई सोधेको थियो, ‘मेरो हप्ताको कमाइ कति छ ?’

म्यानेजरको जवाफले ऊ दंग परेको थियो । त्यसपछि उसलाई आफ्नो दैनिक आम्दानीको हिसाब निकाल्न मन लागेको थियो । म्यानेजरले दिनको मात्र होइन, हरेक घण्टा र मिनेटमा उनको कमाइको आँकडा कति छ भनेर हिसाब देखाइदिएको थियो । त्यसपछि उनीहरुले प्रति सेकेण्ड हुने आम्दानीको पनि अंक निकालेका थिए ।

अब ऊ वार्षिक वा मासिक हुने कमाइको एकमुष्ट हिसाब होइन, प्रतिमिनेट वा सेकेन्डमा हुने कमाइको अंक गन्न थालेको थियो ।

ऊ धमाधम सिनेमामा अनुबन्धित हुँदै थियो र बहुराष्ट्रिय उत्पादनका विज्ञापन पनि छाउन थालेका थियो । कुनै ब्राण्डको पहिरन लगाएवापत वा कुनै लक्जरी होटलमा खाना खाइदिएवापत पनि उसले पैसा पाउँथ्यो । सहरका होर्डिङ बोर्डदेखि सिनेमाघरसम्म सर्वाधिक छाएको हुन्थ्यो, सुपरस्टार अनमोल ।

छायांकन, फोटोसुट, अन्तर्वार्ताले उसलाई भ्याइनभ्याइ हुन्थ्यो । त्यसमाथि छायांकनको समयसीमाले उसको सुत्ने समय पनि छोटिंदै गएको थियो ।

सुत्नका लागि चक्की खानुपर्ने र उठ्नका लागि अलार्म बजाउनुपर्ने बाध्यता सुरु भएको थियो । आहारविद्ले तयार गरिदिएको खाद्य तालिकाअनुसार के खाने, के नखाने, कुन समयमा खाने, कति खाने भन्ने टुंगो गरिन्थ्यो । फिटनेस ट्रेनरले हप्तैपिच्छे उसको शरीरको नापजाँच गरेर कति दौडिने वा उफ्रिने भनी तय गर्थे । कुन सिनेमा वा विज्ञापनका लागि तयार हुनुपर्ने, सोही अनुसार उसले पहिरनदेखि गेटअपसम्म बदल्नुपथ्र्यो ।

त्यस साँझ ऊ हातमा वाइनको ग्लास लिएर झ्यालको छेउमा उभियो । बाहिर झरी परिरहेको थियो र हल्का हावा चलिरहेको थियो । उसले चुरोट सल्कायो । तर न स्वादले वाइनको चुस्की लियो न चुरोटको धुँवा नै । किन–किन ऊ बेचैन थियो । गहिरो रिक्तता र खिन्नताले पिरोलिएको थियो । कुनै पनि कुरामा आनन्द लिन सकिरहेको थिएन ।

साँझ छिप्पिंदै थियो । उसले सुत्ने तरखर गरेन । न त भोलिपल्टको सेड्युल के छ भनी म्यानेजरसँग बातचित ग¥यो । बरु चुपचाप राइडिङ गियर लगायो, कालो मास्क लगायो, हेलमेट लगायो क्षणभरमै आफूसँग भएकामध्ये सबैभन्दा महंगो बाइक लिएर घरबाट निस्कियो ।
सडकका भीड छिचोल्दै ऊ बेगले दौडियो ।

सडक बत्तीहरुको पहेंलो प्रकाशमा झरीको दृश्यले उसलाई आनन्दविभोर बनाइरहेको थियो । यो स्वच्छन्द पललाई ऊ धीत मरुञ्जेल अनुभव गर्न खोजिरहेको थियो । अब त्यो सहर, त्यो कोलाहाल टाढा–टाढा हुँदै थियो र ऊ घना जंगलका घुमाउरो बाटोमा बेपर्वाह बत्तिइरहेको थियो ।
सडक रित्तो थियो, वातावरण सुनसान थियो र ऊ एक्लो थियो । उमंगले उद्वेलित हुँदै उसले बाइकको गति अरु बढायो । र, अचानक एउटा कुइनेटोमा ऊ नराम्ररी जिप्टिएर कहालीलाग्दो चट्टाने पहराबाट खस्यो ।

०००

मध्यान्हको पारिलो घाममा यो जंगली साम्राज्य अरु रुपवती र नवयौवनाझैं लाग्दथ्यो । रुखका हाँगाहरुमा लोखर्के फुत्रुक–फुक्रुक उफ्रिरहेका थिए । मयुरका बथान चारो खोज्दै यतायता दौडिरहेका थिए ।

उसले कित्लीमा उम्लिरहेको कालो चिया बाँसको ढुंग्रो काटेर बनाइएको मगमा खन्यायो । अनि लमतन्न खुट्टा पसारेर ढिस्कोमा अडेसियो । कुकुर उनकै सामुन्ने आरामसाथ सुतेको थियो ।

उसले तात्तातो चिया सुरुप्प पारेर गहिरो सास लियो । यसो गर्दा ढकमक्क फक्रिएका सुनाखरी र ओभाउँदै गरेको माटोको मिश्रित सुगन्धले शरीरका ग्रन्थिहरु जागृत भएको अनुभव गर्‍यो । उसले आँखा चिम्लियो । जंगलको एकनासे ध्वनि संगीतमय सुनियो र त्यसले आफ्नो हृदयमा मधुर तरंग ल्याएको आभास भयो ।

पेटमा भोक थियो, शरीरमा दर्द । तर मनमा अपार आनन्द थियो । त्यसैले ऊ गहिरो निद्रामा पर्‍यो ।

निद्रामा उसले कुनै सपना देखेन, ऐंठन परेन । ब्युँझिंदा शरीर चंगा भएझैं लाग्यो । साँझ पर्नै लागेको थियो । ऊ मुख पखाल्न भनेर बिस्तारै खोलातर्फ लाग्यो । खोलाको किनारमा सानो तलाउजस्तो ठाउँमा पुगेर ढुंगामा टुक्रुक्क बस्यो । त्यो कञ्चन पानीमा आफ्नो अनुहारको सग्लो प्रतिछाया देखेर ऊ झस्कियो । कपाल जिग्रिङ्ग थियो, दाह्रीजुँगा बढेको थियो, ओठ सुक्खा थियो र अनुहारमा घाउका दागहरु थियो ।

आफ्नो बिरुप अनुहार देखेर सुरुमा त ऊ केही दुःखी देखियो । तर क्षणभर फिस्स हाँस्यो र अञ्जुलीभर उठाएको पानी पोखाएर आफैंसँग भन्यो, ‘यहाँ कसले मलाई कुरुप भन्नेछ र ?’

ऊ ओडारमा फर्कियो । अनि युवतीको लासलाई नजिक कतै विर्सजन गर्ने निधो ग¥यो । तर त्यसअघि उसलाई युवतीको गोप्य डायरी हेर्ने उत्सुकता जाग्यो । अब उसको हात डायरीमा पुगेको थियो र छिटो–छिटो त्यसको पाना पल्टाउन थालेको थियो ।

‘मृत्यु–कला’ । पहिलो पानामा यो वाक्यांशसँग लेखिएको थियो, ‘बाँच्ने कसरी भनेर खोज्दा–खोज्दै म मृत्युको नजिक पुगें । मृत्यु अनिवार्य थियो तर मैले मृत्यु–कला कहिल्यै सिकिन’ ।

उसले केही बुझेन र दोस्रो पाता पल्टायो, ‘सुख एक तृष्णा ।’ यसको मुनी लेखिएको थियो, ‘प्राप्तिमा सुख छ । तर त्यागमा आनन्द । मैले सुख खोज्दा आनन्द गुमाएँ ।’ उसलाई यस्तो कुरा कतिपनि चाखलाग्दो लागेन र हतार हतार डायरीका पानाहरु पल्टाउन लागे । अन्तिम पातोमा एउटी सुन्दार युवतीको कामुक स्केच थियो, जसको शरीरमा चराको झै रंगीन प्वाँख थियो । स्केचको अनुहार त्यही निर्जिव युवतीसँग दुरुस्तै मिल्थ्यो ।

स्केचको पुच्छरमा लेखिएको वाक्यांशमा पुगेर उनको आँखा रोकियो । त्यहाँ लेखिएको थियो, ‘प्रकृतिलाई सुन । प्रकृतितर्फ फर्क । प्रकृतिमा रमाऊ ।’





Source link

HamroAwaj

2023-02-04 08:18:29

Leave a Comment