सिम वितरणमा भद्रगोल : ५ महिनामा ३२ करोडको डिजिटल लूट – HamroAwaj


२३ माघ, काठमाडौं । विगतमा चोरी भन्ने वित्तिकै घरमा गएर सरसामान, नगद वा जिन्सी उठाएर लैजानु भन्ने बुझिन्थ्यो । तर, अहिले चोरी र लूटपाटको शैली पूरै बदलिएको छ ।

अब तपाईंले अलिकति हेलचेक्र्याइँ मात्रै गर्नुभयो भने तपाईंको हातमा रहेको स्मार्ट फोन र ल्यापटपबाट कतिखेर कति पैसा लुटिन्छ थाहै हुन्न । किनकि चोरी र लूटपाटमा प्रविधि जोडिन आइपुगेपछि अपराधको शैली पनि बदलिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार, मोबाइल फोन वा ल्यापटपमा झुक्याई पहुँच बनाएर मोबाइल बैंकिङ र डजिटल वालेटमार्फत लूट मच्चाउन थुप्रै गिरोह सक्रिय छन् । यस्ता गिरोहबाट लुटिएँ भन्दै प्रहरीकहाँ उजुरी आउने क्रम दैनिक बढ्दो छ ।

‘अहिले प्रहरीसमक्ष आउने धेरै आर्थिक अपराध डिजिटल वालेट र मोबाइल बैंकिङसँग जोडिएकै हुन्छन्’ पोखरेल भन्छन्, ‘केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), साइबर ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयलगायत युनिटमा यस्ता उजुरीका चाङ लाग्न थालेका छन् ।’

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइराला अधिकांश नागरिक सामाजिक सञ्जालमै हुने भएपछि कसैलाई भेट्न, ठग्न वा लुट्न अन्त कतै जानु नपर्ने स्थिति बनेको बताउँछन् ।

‘कहिले वैदेशिक रोजगारीको विज्ञापन राखिन्छ, कहिले विभिन्न सामान सस्तोमा पाइने भनेर लोभ्याउने गरिन्छ’ उनी भन्छन्, ‘प्रयोगकर्ताहरूले कसरी त्यो सस्तोमा आयो भन्ने सोच्दै नसोची विश्वास गरिदिंदा लुटिएका छन् ।’

डिजिटल लूटको यो धन्दा कसरी चलिरहेको छ ? हेरौं केही उदाहरण :

घटना–१

बौद्धका दिनेश (नाम परिवर्तन) ले एक साताअघि सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा ‘स्टक ट्रेडिङ नेपाल’को विज्ञापन देखे । शेयर बजारसम्बन्धी सम्पूर्ण जानकारी पाइने भन्दै गरिएको विज्ञापन देखेपछि उनले त्यो पेज खोलेर हेरे । त्यसभित्र जाने वित्तिकै आफैं म्यासेज आयो, ‘इफ यू निड दिस सफ्टवेयर देन लेट मी नो । (तपाईंलाई यो सफ्टवेयर चाहिन्छ भने खबर गर्नुस् !)’

‘त्यो अटोमेटिक आउने म्यासेज रहेछ, मैले पेड अर फ्री भनेर सोधें’, उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरमा बुधबार भेटिएका उनी भन्छन्, ‘एक महिनाका लागि फ्री हुने त्यसपछि एक वर्षको हजार रुपैयाँ लाग्ने भनियो ।’ केही वर्षदेखि शेयर कारोबार गर्दै आएका दिनेशले तत्काल त सफ्टवेयर लिएनन् ।

तर, शनिबार घरमा खाली बसिरहेका बेला उनले फेरि सोही विज्ञापन देखे । ‘एक महिनालाई पैसा नलाग्ने भएपछि के रहेछ हेरौं न त भन्ने भयो, प्ले स्टोरमा एप्लिकेशन खोजें’ उनले भने, ‘स्टोरमा नभेटिएपछि फेरि म्यासेज गरें, त्यहाँ एउटा लिंक र पासवर्ड आयो ।’ दिनेशका अनुसार त्यो विन्डोज अपरेटिङ सिस्टमको सफ्टवेयर रहेछ ।

‘ल्यापटपबाट त्यो लिंक खोल्दा वी ट्रान्सफर भन्ने खुल्यो, त्यहाँ गएर डाउनलोड गरेर इन्स्टल गरें’ दिनेशले सुनाए, ‘त्यहाँ भने अनुसार विवरण दिंदा मोबाइलमा ओटीपी कोड आयो । त्यसपछि झसंग भएँ ।’

कक्षपतिका अनुसार कोड आएपछि आफ्नो बैंक खातामा अरूले पहुँच बनाएको उनले चाल पाइहाले । ‘तत्काल बैंकमा फोन गरेर जानकारी गराएँ, कल सेन्टरमा फोन गरेर खाता बन्द गर्न भन्नुभन्यो’ उनले भने, ‘त्यतिञ्जेल ५० हजार रुपैयाँ काटिसकेको थियो । दुई तीन मिनेटपछि फेरि अर्को म्यासेज आयो ।’

केहीबेरमै उनको २ लाख ४८ हजार ५०० रुपैयाँ गुम्यो । ‘थाहा पाउँदा पाउँदै पूरै खाली भयो’ उनले भने, ‘त्यसपछि प्रहरीकहाँ उजुरी दिन आएको हुँ ।’

घटना–२

गोंगबुमा होटल चलाइरहेका रामेश (नाम परिवर्तन) लाई १३ पुसमा ९८११२२…. नम्बरबाट फोन आयो ।

‘तपाईंको ई–सेवामा कुनै समस्या छ ?’ उनलाई सोधियो ।

‘ई–सेवामा त केही समस्या छैन । तर, कहिलेकाहीं फोन–पेले चाहिं धोका दिन्छ’, ई–सेवाको कर्मचारी भन्दै फोन आएपछि उनले जवाफ फर्काए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा भेटिएका रामेशका अनुसार झण्डै ७ मिनेटजति भएको कुराकानीमा उनीसँग ई–सेवाको कर्मचारी बताउने व्यक्ति निकै नरम सुनिए । ‘कहिलेकाहीं म्यासेज नआउने रहेछ, मैले सबै बनाइदिएँ भन्यो’ उनी भन्छन्, ‘होला भन्ने भयो । धेरै सिरियस भएकै थिइनँ ।’

फेरि उनलाई अर्को प्रश्न सोधियो, ‘ई–सेवा बैंकमा लिंक गर्नुभएको रहेनछ नि ?’

धेरै कारोबार नहुने भएकाले उनले बैंक खातासँग ई–सेवा जोडेका थिएनन् । ‘कर्मचारीले नै बैंकमा पैसा सार्दा थप शुल्क लाग्दैन, क्यास ब्याक पनि पाइन्छ भने पनि हुन्छ गर्दिनु न त भनें’ रामेशले सुनाए, ‘कुन बैंक हो भनेर भन्यो, मैले एनएमबि बैंक भनें । लगत्तै एउटा कोड आएको छ दिनु भन्यो ।’

बोल्दै गर्दा स्क्रिनमा कोड नम्बरसहितको म्यासेज पपअप भइरहेको थियो । उनले नम्बर भनिदिए । नम्बर दिनेवित्तिकै उनको खाताबाट ५० हजार रुपैयाँ काटियो ।

ई–सेवाको कर्मचारी भएको बताउँदै डिजिटल वालेटको विवरण मागेर रकम चोरी गरेको आरोपमा पक्राउ परेका १९ वर्षका शुभम् शाह ।

‘मैले मेरो पैसा काटियो त सर, के गर्नुभएको भनें, के भयो सर, के भयो सर भन्दाभन्दै फोन काटिदियो’ उनले अनलाइनखबरसँग भने, ‘बैंकमा गएर खबर गर्दा चौकीमा खबर गर्न भन्यो । चौकीले अपराध अनुसन्धान कार्यालय पठाइदियो ।’

यसको तीन दिनअघि मात्रै उनले आफ्नो होटलका लागि मासु किन्ने पसलका सञ्चालक पनि यही शैलीमा लुटिएका थिए । उही नम्बरबाट आएको फोनमा बैंक ट्रान्सफर गर्न पैसा लाग्दैन भन्दै ओटीपी नम्बर लिएर रकम लुटिएको थियो । पीडितका अनुसार उनको बैंक खाताबाट दुई लाख रुपैयाँ लगिएको थियो ।

‘२५/२५ हजार रुपैयाँ विभिन्न मान्छेको ई–सेवा अकाउन्टमै हालेको रहेछ, एक लाख चाहिं एनएमबि बैंकमा पठाएको देखियो’ उनले भने, ‘ती सबै रकम विभिन्न खातामा घुमाउँदै निकालेको देखिएको छ ।’

घटना–३

ट्रेकिङ गाइड कामिरिता (नाम परिवर्तन) केही महिनायता वैदेशिक रोजगारीका लागि क्यानडा जाने सोचमा थिए । त्यसका लागि उनले ‘जब इन क्यानडा’ भन्दै गुगल सर्च गर्ने गरेका थिए । त्यहाँ एउटा वेबसाइटमा विवरण माग भएपछि उनले आफ्नो व्यक्तिगत विवरण पठाएका थिए ।

कामिरिताका अनुसार त्यसरी विवरण बुझाएको केही समयपछि १–६५–९१० …. नम्बरबाट उनलाई ह्वाट्स एपमा आफूलाई क्यानेडियन नागरिक बताउने नाथन बेकको म्यासेज आयो । उनले आफूलाई क्यानडाको रोजउड होटलको मानव संशाधन विभाग प्रमुख भएको बताएका थिए ।

‘क्यानडा जाने प्रक्रिया अघि बढाउने हो भने एउटा फर्म पठाइदिन्छु, त्यसमा सही–छाप गरेर पठाइदिनुहोला भनिएको थियो’ कामिरिता भन्छन्, ‘मैले सबै डकुमेन्टहरू पठाएपछि एग्रिमेन्ट पेपर पनि पठाएको थियो । मासिक ७ हजार अमेरिकी डलर कमाइ हुने उल्लेख थियो ।’ थप प्रक्रिया अघि बढाउन राहदानी तथा शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र पठाउन भनिएको थियो ।

‘सबै कागज पठाएपछि प्रोसेसिङ शुल्क भन्दै ४२ हजार रुपैयाँ सिद्धार्थ बैंकको खाता नम्बरमा एमके ट्रेडर्सलाई पठाइदिन भनिएको थियो’ उनी थप्छन्, ‘पछि फेरि भिसा प्रोसेसका लागि २ लाख ७० हजार चाहिन्छ भनेपछि मैले उसले भने अनुसार बैंक र ई–सेवा एकाउन्टमा पठाएको थिएँ ।’ त्यति पैसा जम्मा गरेपछि पनि उसले पैसा माग्न छाडेको थिएन ।

हवाई टिकटका लागि ५ लाख २२ हजार पठाउनुपर्छ भनेपछि चाहिं उनलाई शंका लाग्यो । प्रहरीकहाँ पुगेपछि थाहा भयो, उनी अनलाइनबाट रकम लुट्ने गिरोहको चंगुलमा फसेका रहेछन् । अहिले प्रहरीले घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ ।

घटना–४

राजधानीका एकजना चिनिएका सामाजिक अभियन्ता चार महिनाअघि ह्वाटस एप स्क्रोल गरेर बसेका थिए । त्यसमा आएको एउटा म्यासेजमा क्लिक भयो, जसमा लेखिएको थियो– ‘नेपाली केटी चाहिन्छ ?’

‘म आफैं २५ वर्षदेखि प्रविधिको क्षेत्रमा पनि काम गर्दै आएको व्यक्ति हुँ, मलाई कसरी फिसिङ हुन्छ भन्ने राम्रोसँग थाहा थियो’ उनी भन्छन्, ‘तर झुक्किएर क्लिक हुँदा मेरो खाताबाट ३ लाख रुपैयाँ हरायो ।’

उनले तत्काल सम्बन्धित बैंक र नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी गराए । तर, हालसम्म यसमा संलग्न गिरोहका सदस्य पक्राउ परेका छैनन् ।

‘मैले आफैं धेरै खोजी गरेर केही सूचनाहरू संकलन पनि गरें, ब्यूरोले सुरुमा तत्काल समात्छौं भनेको व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन्’ उनले अनलाइनखबरसँग सुनाए, ‘मैले आईजीपीसम्म यो कुरा पुर्‍याएँ तर, प्रहरीले अश्लील च्याटिङ गर्ने मान्छे हो भनेजसरी सस्तो आरोप लगायो । अनुसन्धान नै गरेन ।’

बैंकले समेत प्रयोगकर्ताकै गल्ती देखाउने गरेको उनी बताउँछन् । ‘यो बैंकका एप्लिकेशनहरू नै असुरक्षित भएको विषय हो, तर यसमा कसैको ध्यान पुगेको छैन’, उनी भन्छन् । जिल्ला प्रहरी परिसर, ललितपुरले पनि उनको बैंक एकाउन्टबाट रकम निकालिएको जस्तै घटनामा संलग्न एउटा गिरोहलाई शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहका अनुसार भारतीय नागरिक अवधेश कुमार, सप्तरीका दिलीपकुमार चौधरी, पर्साका नगेन्द्र साह कानु, रौतहटका रविना चौधरी, बाराका सन्तोष कुँवर, पर्साका राजु पटेल, साहिल परबेज र शिवशंकर राउत पक्राउ परेका छन् ।

उनीहरूले ‘नेपाली केटी चाहिन्छ ?’ भन्ने व्यहोराको म्यासेजमार्फत एउटा लिंक पठाएर प्रयोगकर्ताको बैंक र डिजिटल वालेटमा पहुँच पुर्‍याएको पाइएको शाह बताउँछन् । उनका अनुसार यो गिरोहले ‘नेपाली गर्ल’ नामक मोबाइल एप्लिकेशन पठाएर डिजिटल वालेट र मोबाइल बैंकिङमा पहुँच बनाउने गरेका थिए । यो गिरोहबाट मात्रै कम्तीमा ३६ जना ठगिएको भेटिएको एसएसपी शाह बताउँछन् ।

बढ्दो अनलाइन स्क्याम

यी घटनाक्रमहरू पछिल्लो समय डिजिटल वालेटबाट भएका लूटका केही उदाहरण मात्रै हुन् । यस्ता प्रकृतिका घटनाबाट पीडित बनेर प्रहरी कहाँ पुग्नेको संख्या दैनिक बढ्दो छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख डा. मनोज कुमार केसीका अनुसार कार्यालयमा आउने उजुरीको सबैभन्दा बढी संख्या साइबर जोडिएको ठगी हेर्ने शाखामै छ ।

‘सबैभन्दा धेरै जनशक्ति पनि साइबर जोडिएको अपराध हेर्ने पिलरमै छ’ डा. केसीले अनलाइनखबरसँग भने, ‘अहिले आईटी जोडिएका जाहेरी मात्रै दैनिक जसो १० देखि १५ वटा आइरहेका छन् । जबकि, यो विषय प्रहरीका अरू युनिटले पनि हेर्छन् ।’

कार्यालयका प्रवक्ता एवम् एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा मात्रै अनलाइनबाट भएका लूटका २३५ वटा उजुरी दर्ता भएका छन् । त्यसमा ३१४ जना पक्राउ परेका छन् भने ५४९ जना पीडित छन् ।

चिट्ठा परेको भन्दै ९९ लाख २६ हजार ३२४ रुपैयाँ ठगिएको छ, पार्सल पठाइदिन्छु भन्दै ५ करोड २६ लाख २९ हजार ३१९ रुपैयाँ, मोबाइल, ल्यापटप, क्यामरा खरिद बिक्री गर्ने नाममा ८४ लाख ८९ हजार ९५ रुपैयाँ लुटिएको छ ।

फेसबुक आइडी ह्याक गरेर १० लाख ९२ हजार २६० रुपैयाँ, ओटीपी कोड हात पारेर ३८ लाख ७५ हजार ९७९ रुपैयाँ, डिजिटल वालेट प्रयोग गरेर ५८ लाख ३८ हजार ३२४, अनलाइनमा रोजगारीको विज्ञापन राखेर २२ लाख २५ हजार २७७ रुपैयाँ ठगिएको छ ।

वैदेशिक ठगी, इन्भेष्टमेन्ट स्क्यामसहित अरू प्रकृतिका कसूरसहित गरेर पाँच महिनामा १० करोड ९१ लाख ३३ हजार ६५५ रुपैयाँ लुटिएको एसपी कोइराला बताउँछन् । यही अवधिमा प्रहरीले १७ करोड ७३ लाख ८१ हजार १७ रुपैयाँ फिर्ता गराइदिएको उनको भनाइ छ ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, साइबर ब्यूरोसहित देशभरका अन्य युनिटहरूमा पछिल्लो पाँच महिनामा सामाजिक सञ्जालबाट भएका ठगीका २९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये एउटैमा ५० जनासम्म पीडित छन् ।

ती सबैमा गरेर ३२ करोड ३८ लाख २१ हजार ६१९ रुपैयाँ लुटिएको पोखरेल बताउँछन् । आर्थिक वर्ष २०७८/७९ मा यस्तै खाले ६९ वटा मुद्दा दर्ता भएका थिए, त्यसमा २९ करोड ९४ लाख २ हजार रुपैयाँ लुटिएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा.केसीका भनाइमा, कोरोना महामारीमाथि डिजिटल कारोबार बढेको अवस्थामा यसको बलियो नियमन हुनुको विकल्प छैन । ‘हरेक विषयमा सकारात्मक र नकारात्मक कुरा सँगै आउनु स्वाभाविक नै हो, यसमा कडाइ गरेर नराम्रा पाटोलाई निर्मूल पार्नुपर्छ’, उनी भन्छन् ।

प्रमाण जुटाउनै धौ–धौ

प्रहरीका विभिन्न युनिटमा अनलाइनका माध्यमबाट ठगिएँ भन्दै उजुरी आउनेको संख्या बढ्दो छ । तर, प्रहरीका लागि यसको अनुसन्धानको विषय टाउको दुखाइ बन्ने गरेको छ ।

साइबर सुरक्षा मामिलाका जानकार डा.अभिजित गुप्ताका अनुसार अनुसन्धानका क्रममा सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले विवरण उपलब्ध नगराइदिंदा छानबिनमा जटिलता देखिने गरेको छ ।

‘अलि अघिसम्म नेपाल प्रहरीले माग्दा सहजै विवरण पाउने गर्थ्यो तर, अहिले गोपनीयताको नीति अनुसार अदालतबाट निर्णय गराएर त्यसको कपी पठाउन सके मात्रै दिन्छ’ ‘इन्फर्मेसन सिस्टम एण्ड सेक्यूरिटी अडिट फर इ गभर्मेन्ट इन नेपाल’ विषयमा विद्यावारिधि गरेका डा.गुप्ता भन्छन्, ‘त्यो प्रक्रिया लामो हुन्छ, अनुसन्धानले कहिलेकाहीं धेरै समय लिंदा आरोपीसम्म पुग्न गाह्रो हुने गर्छ ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना प्रहरी निरीक्षक पनि डा. गुप्ताको भनाइसँग सहमत छन् । ‘यदि फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जालका एक जना प्रतिनिधि मात्रै नेपालमा राख्न बाध्य पार्ने हो भने यो समस्या धेरै हदसम्म हल हुन्थ्यो’ उनी भन्छन्, ‘अहिले उनीहरूले नेपालको कानुन मान्नु नपर्ने भएकाले सूचना दिए पनि भयो, नदिए पनि भयो भन्ने भएको छ ।’

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्न बाध्य पार्ने गरी सूचनाप्रविधि विधेयक आएको थियो । तर अन्य कतिपय विवादका कारण विधेयक अलपत्र पर्‍यो । यदि सामाजिक सञ्जालका कम्पनीलाई नेपालमै रजिष्टर गर्न लगाउने हो भने यो समस्या धेरै हदसम्म हल हुन्थ्यो ।

सामाजिक सञ्जालमा पहुँच पुर्‍याएर भएका लूटपाटका घटनामा कानुनी कारबाहीको पाटो पनि कति कमजोर छ भन्ने उदाहरण १९ वर्षीय शुभम् शाह हुन् । ९ महिनाअघि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले ई–सेवामा बैंक एकाउन्ट लिंक गरिदिन्छु भन्दै लुटेको आरोपमा पक्राउ गरेको थियो ।

जिल्ला अदालत, काठमाडौंमा भएको प्रारम्भिक सुनुवाइपछि शाह धरौटी बुझाएर छुटे । लगत्तै उनी फेरि उस्तै खाले गतिविधिमा संलग्न भएको भेटिएपछि पक्राउ परे । अपराध अनुसन्धान कार्यालयका एसपी कोइरालाका अनुसार शाह छुटेलगत्तै एउटै शैलीबाट अपराध भएका ३८ जनाको निवेदन प्रहरीसमक्ष परेको थियो ।

‘अनुसन्धान गर्दै जाँदा ती घटनामा पनि शाहकै संलग्नता देखियो’ कोइराला भन्छन्, ‘उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।’

पहिले भीओआईपी कलमा नागरिकताको धेरै दुरुपयोग हुने गरेको देखिएको थियो, अहिले अनलाइन सेवा लिनेले दुरुपयोग गरिरहेको देखिएको छ । यसको नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं – नेपाल दुरसञ्चार प्राधिकरण

भद्रगोल सिम वितरण प्रणाली

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरीका अनुसार पछिल्लो समय जथाभावी सिम कार्ड वितरण गरिंदा पनि अनुसन्धानमा जटिलता देखिने गरेको छ ।

राजधानी काठमाडौंसहित मुलुकका विभिन्न शहरमा प्रहरीले विद्युतीय ठगीमा संलग्न चिनियाँ नागरिक विरुद्ध चलाएको अपरेशनमा ठूलो संख्यामा सिम कार्ड बरामद भएको थियो ।

‘त्यसबाहेक अनलाइन ठगीका अरू गिरोह समातिंदा पनि ठूलो संख्यामा सिम कार्ड बरामद भएका छन्’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कोइराला भन्छन्, ‘राम्रो भेरिफिकेसन विना सिम कार्ड वितरण हुँदा अनुसन्धानमा जटिलता भइरहेको छ ।’

प्रमाणीकरण विना वितरण भएका सिम कार्डबाट मोबाइल वालेटहरू बनेका छन् । त्यसले अनुसन्धानलाई जटिल बनाएको अधिकृतहरू बताउँछन् । ‘कतिसम्म भने फोटोशप गरेर अर्कै मान्छेको नागरिकता बनाएर पनि सिम कार्ड निकालेको पाइएको छ’ कोइराला भन्छन्, ‘विदेश जाने व्यक्तिहरूको नाममा पनि सिम निकालेर उनीहरूको खातामा पहुँच पुर्‍याएको पनि भेटिएको छ ।’

कोइरालाका अनुसार डिजिटल चोरीबाट लुटिएको रकम निकाल्न गलत विवरण राखेर निकालिएका सिम कार्डबाट बनाइएका डिजिटल वालेट प्रयोग हुने गरेका छन् । ‘त्यस्ता वालेटमार्फत घुमाउँदै लगेर क्यासपोइन्टबाट रकम निकाल्ने गरिएको देखिन्छ’, उनी भन्छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्र चाहिं प्राधिकरणले गलत विवरण राखेर सिम कार्ड प्रयोग गर्नेमाथि निगरानी गर्ने गरेको दाबी गर्छन् ।

‘पहिले भीओआईपी कलमा नागरिकताको धेरै दुरुपयोग हुने गरेको देखिएको थियो, अहिले अनलाइन सेवा लिनेले दुरुपयोग गरिरहेको देखिएको छ’ उनी भन्छन्, ‘त्यसैलाई आधार मानेर अहिले नो योर कस्टुमर (केवाईसी) फारम फेरि भर्न लगाउने प्रणालीको विकास गरेका छौं ।’

साइबर सुरक्षाविद् गुप्ता यस्तो लूटबाट बच्न सबैभन्दा बढी प्रयोगकर्ता नै सचेत हुनुपर्ने सुझाव दिन्छन् । ‘अपराध हुनै नदिने गरी प्रतिरक्षा प्रणाली बनाउनु त जरूरी भइहाल्यो’ उनी थप्छन्, ‘त्यसका अतिरिक्त प्रयोगकर्ता आफैंं पनि सचेत बन्नुपर्छ ।’ उनी प्रयोगकर्ताहरूलाई अनिवार्य एन्टी भाइरस इन्स्टल गर्न सुझाव दिन्छन्, ताकि ‘अननोन सोर्स’का सफ्टवेयर/एप्लिकेशन इन्स्टल नहोस् ।

आफ्ना व्यक्तिगत विवरण र कागजात कहिल्यै सार्वजनिक प्लेटफर्ममा राख्न नहुने उनको भनाइ छ । ‘कहिले प्रिन्ट गर्न भनेर त कहिले अरू प्रयोजनका लागि सहजै डकुमेन्ट पठाउने गर्छौं, त्यसले कुनै पनि बेला जोखिममा पार्न सक्छ’ डा. गुप्ता भन्छन्, ‘त्यसरी दिएको डकुमेन्टको दुरुपयोग गरेर कसैले आफ्नै नामको अर्को सिम निकालेर डिजिटल वालेटमा पहुँच पुर्‍याउन सक्छ भन्ने कुुरामा सचेत बन्नुपर्छ ।’

प्रयोगकर्ता डिजिटल माध्यमबाट लुटिइसकेपछि अनुसन्धानका लागि डिजिटल वालेट र इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) नै पहिलो स्रोत बन्ने भएकाले त्यसको क्षमता पनि बढाउँदै लैजानुपर्ने जानकारहरू बताउँछन् ।

‘जस्तै कम्तीमा त्यो डिजिटल वालेट कुन आईएमईआई नम्बरबाट चलेको थियो भन्ने विवरण पाउन सके अनुसन्धान अझै ‘पिन पोइन्ट’ बन्न सक्थ्यो’ अपराध अनुसन्धान कार्यालयका एक अधिकृत भन्छन्, ‘अहिले डिजिटल वालेटको मोबाइल नम्बर र सामान्य विवरण मात्रै पाइन्छ, त्यसलाई केलाएर अरू पाटाहरूबाट पनि अनुसन्धान गरुञ्जेल अरू थुप्रै प्रयोगकर्ता पनि ठगिइसकेका हुन्छन् ।’





Source link

HamroAwaj

2023-02-06 20:04:29

Leave a Comment