सामुदायिक विद्युतीकरणलाई विस्थापन गर्ने योजना बनाउँदै ऊर्जा मन्त्रालय – HamroAwaj


२७ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सामुदायिक ग्रामीण विद्युतीकरण संस्थाहरुको सेवालाई विस्थापन गर्ने भएको छ । यसका लागि मन्त्रालयले नीतिगत व्यवस्था र योजना तयार गर्न गृहकार्य अघि बढाएको छ ।

देशभर भएका सामुदायिक विद्युतीकरणमा विकृति मौलाएको र सामुदायिक संस्थाहरुले गुणस्तरीय विद्युत सेवा प्रत्याभूत गर्न नसकेको ठहर गर्दै सरकारले अब सामुदायिक विद्युतीकरण भएका स्थानमा विद्युत प्राधिकरणलाई नै सबै अधिकार दिने तयारी गरेको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार क्रमशः प्राधिकरणले सामुदायिक विद्युतीकरण भएका ठाउँमा आफैंले सेवा दिन थालिसकेको छ । अब त्यसलाई तीव्र पार्ने गरी नीतिगत व्यवस्था नै गर्न लागिएको उनले बताए ।

ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले नै सामुदायिक विद्युतीकरणको नीति र व्यवस्थामा परिमार्जन लागि चासो दिएका हुन् । ग्रामीण विद्युतीकरण भएका क्षेत्रमा भोल्टेजको समस्या धेरै भएको, मर्मतसम्भार बेलैमा नभएको र संस्थाहरुमा विकृति मौलाएकाले अब प्राधिकरणबाटै सेवा पुर्‍याउनुपर्नेमा मन्त्री लिङ्देनले जोड दिएको मन्त्रालय स्रोतको दाबी छ ।

२ वर्षभित्र सबै क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनको बिजुली पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको सरकारले ग्रामीण क्षेत्रमा सामुदायिक संस्थामार्फत दिइएको विद्युत सेवालाई अब सरकारकै मातहतमा ल्याउन लागेको हो ।

‘यसको विरोध हुनसक्छ, तर जनतालाई सामुदायिक विद्युतका नाममा साधैंभरि गुणस्तरहीन सेवा दिएर हुँदैन,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘प्राधिकरणले भारतमा बिजुली निर्यात गरेर कमाउन थालिसक्यो । अब पनि जनतालाई धिपधिपे बत्तीमा राखिरहन हुँदैन ।’

अहिले सामुदायिक संस्थामार्फत १० प्रतिशत लगानी गरेपछि सरकारले बाँकी ९० प्रतिशत लगानी गरेर सामुदायिक विद्युतीकरण गर्न सकिने व्यवस्था छ । ती क्षेत्रमा संस्थाले नै विद्युत प्राधिरकणसरह विद्युत वितरण गर्छ । बिलिङदेखि महसुल संकलनसम्म गरेर संस्था चलाइन्छ । प्राधिकरणले बल्कमा केही सस्तो दरमा दिएको बिजुलीलाई संस्थाले विद्युत नियमन आयोगले तोकेको दरमा उपभोक्तालाई बेच्छ । विभिन्न पहाडी जिल्लामा यस्तो सामुदायिक विद्युतीकरण

सामुदायिक विद्युतीकरण भएका जिल्लाहरु ।

देशभरिका ५५ जिल्लाका ग्रामीण क्षेत्रमा साढे ५ लाख भन्दा बढी घरधुरीमा सामुदायिक विद्युतीयकरणमार्फत विद्युत पहुँच पुगेको छ ।

राष्ट्रिय प्रसारण प्रणालीको विद्युतको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा ३०० भन्दा बढी सामुदायिक संस्थाहरूमार्फत विद्युत सेवा विस्तार गरिएको छ । ग्रामीण क्षेत्रमा भएको विद्युतीकरणको करिब १५ प्रतिशत हिस्सा सामुदायिक संस्थाले लिएको सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।

प्रायः ११ केभी लाइनबाट सेवा दिइरहेका संस्थाहरुले ३ हजारभन्दान बढी ट्रान्सफर्मर प्रयोग गरिरहेका छन् । समुदायको सहभागितामा व्यवस्थापनसहित गरिने सामुदायिक विद्युतीकरण गर्न २०६० सालदेखि सुरु भएको थियो । समुदाय र नेपाल सरकार दुवैको सहकार्यमा यस्तो विद्युतीकरण हुँदै आएको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा विद्युतीकरण गर्न प्राधिकरणलाई समस्या परेपछि सामुदायिक विद्युतीकरणको नीति आएको थियो । अहिले सामुदायिक विद्युतीकरण राष्ट्रिय महासंघको समन्वयमा विद्युतीय चुलो राष्ट्रिय अभियान पनि सञ्चालन भइरहेको छ ।

पछिल्ला दिनमा सरकारले २० युनिटसम्म उपभोग गर्ने ग्राहकलाई विद्युत सेवा निःशुल्क दिने नीति ल्याएपछि सामुदायिक विद्युत सेवा दिने संस्थाहरु समस्यामा परेका छन् ।

प्राधिकरणका एक अधिकारी सामुदायिक विद्युतीकरण गर्न १० प्रतिशत स्थानीय बासिन्दाले जुटाउनुपर्ने व्यवस्थालाई अब पनि निरन्तरता दिनु उपयुक्त नहुने बताउँछन् । सरकार सक्षम भइसकेपछि समुदायमाथि आर्थिक तथा प्राविधिक बोझ थपेर राख्न नहुने र राष्ट्रिय प्रसारणबाट गुणस्तरीय बिजुली दिनुपर्ने बताउँछन् ।

‘सामुदायिक विद्युतीकरण भएका क्षेत्रका जनताले नै प्राधिकरणलाई सेवा दिन बोलाइरहेका छन्,’ उनले भने, ‘अब संस्थाले मै सेवा दिन्छु भनेर मात्रै पनि हुँदैन, गुणस्तरीय सेवा दिनुपर्छ ।’





Source link

HamroAwaj

2023-02-10 21:40:17

Leave a Comment