मणिमुकुन्द रनिङ कप भलिबलको उपाधि स्याङ्जालाई – HamroAwaj


२८ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमामा सम्पन्न ८ औं मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल संघ स्याङ्जाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जिल्ला भलिबल संघ नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधी जितेको हो । पहिलो सेट २५–२३ ले हारेको स्याङ्जाले त्यसपछिका ३ सेट २५–१३, २५–२३ र २५–१६ अंकले जित्यो ।

फाइनल खेलको म्यान अफ द म्याच स्याङ्जाका हरि पाण्डे भए । स्याङ्जाले यो प्रतियोगिताको उपाधि पाँचौपटक जितेको हो । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा माघ २४ देखि सुरु भएको प्रतियोगितामा लुम्बिनी र गण्डकीका ९ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वत तेस्रो भएको छ । उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो भएको टिमले १ लाख ५० हजार र दोस्रो टिमले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । तेस्रो स्थान हासिल गरेको पर्वतले नगद ५० हजार र सान्त्वना भएको जिल्ला भलिबल संघ गुल्मीले नगद ३० हजार पाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै जिल्ला भलिबल संघ स्याङ्जाका सञ्जुबिक्रम शाहले नगद १० हजार सहित पुरस्कृत भएका छन् । यसैगरी विधागत तर्फका बेस्ट सेटरमा जिल्ला भलिबल संघ पर्वतका सुवास कुँवर, बेस्ट डिफेन्डर जिल्ला भलिबल संघ स्याङजाका राजन दर्लामी, बेस्ट ब्लकर नवलपुरका सन्तोष राना, वेस्ट स्पाइकर नवलपुरका अशोक श्रेष्ठ, वेस्ट सर्भर स्याङजाका विजय थापा, अनुशासित खेलाडी स्याङ्जाका सुदिप राना घोषित भएका छन् ।

यस्तै वेस्ट कोच स्याङजाकै अमृत केसी बन्न सफल भए । उनीहरुले जनही नगद ५ हजार नगद पुरस्कार राशीसहित कप र मेडल प्राप्त गरेका छन् ।

विजयी टिम र खेलाडीलाई तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेकी छन् । प्रतियोगितालाई तिलोत्तमा नगरपालिकाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।





Source link

HamroAwaj

2023-02-11 19:35:08

Leave a Comment