८ फागुन, काठमाडौं । चुनाव संवैधानिक राष्ट्रपतिको हो, तर कार्यकारी प्रधानमन्त्रीलाई भ्याइनभ्याई छ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानदेखि रातिसम्म भावी राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । सोमबार साँझ माओवादी केन्द्रको बैठकमा पनि त्यही एजेन्डामा सहमति जुट्यो– जुनसुकै उम्मेदवार उठाए पनि त्यसबारे प्रचण्ड एक्लैले निर्णय गर्ने ।
तिनै प्रचण्डलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए, रवि लामिछाने । यी तिनै नेता हुन्, जसबारे तीन दिनअघि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच कुरा भएको थियो ।
शुक्रबार आफूलाई भेट्न बालकोट आएका प्रचण्डसँग ओलीले पुस १० गतेको बाचा सम्झाउँदै त्यो दिनका साक्षी बसेका रविको नाम लिएका थिए ।
१० पुसमा कांग्रेससँगको गठबन्धन त्यागेर बालकोट पुगेका प्रचण्डलाई प्रधानमन्त्री दिनेगरी एमालेले राष्ट्रपति लिएको थियो ।
७९ सिटको पार्टीलाई मुख्य संवैधानिक पद छाड्न तयार हुँदै गर्दा ३२ सिटको माओवादी केन्द्रका प्रमुख प्रचण्डले सभामुखमा एमाले र माओवादीबीच आलोपालो हुनुपर्ने शर्त राखेका थिए ।
यी सबै दृश्य देख्ने रवि लामिछानेलाई सोमबार अनलाइनखबरले सोध्यो, ‘राष्ट्रपति एमालेले पाउने भन्ने सहमति त्यो दिन भएको थियो होइन त ?’
‘अँ, भएको थियो । त्यो कुरा हुँदा म त्यहीँ थिएँ ।’
‘उसोभए ओली र प्रचण्डको त्यो सहमति अहिले पनि कायम छ ?’
रविले राजनीतिमा दैनन्दिन बदलिइरहने यथार्थहरुको विवेचना गर्दै प्रष्ट पार्न खोजे, ‘अब हेर्नुस् । त्यो दिन प्रधानमन्त्री माओवादी केन्द्रले पाउने, राष्ट्रपति एमालेले पाउने सहमति भएको नै हो । तर सहमति पनि चरण–चरणमा हुन्छन् नि । त्यसपछि भएका छलफलहरुमा उहाँहरुले छुट्टै केही कुरा गर्नुभयो होला । त्यो मलाई थाहा छैन ।’
अनलाइनखबर – तपाईंले आज बिहान प्रधानमन्त्रीसँग छुट्टै भेट्नुभएको थियो । त्यसमा के कुरा भयो ?
रवि – राष्ट्रिय सहमतिको आधारमा (राष्ट्रपति) हुनुपर्छ भन्ने कुरा गर्नुभयो । सहमति अनुसार हुन्छ भने ठिकै छ भन्ने हाम्रो भनाइ रह्यो ।
रविको भनाइबाट अब राष्ट्रपति एमालेले पाउँदै छैन भन्ने अर्थ निस्कन्छ । उनले राष्ट्रपतिमा अरु कोही आउन सक्ने संकेत गर्दै, तर यसैका कारण हालको गठबन्धन भने नटुट्ने रोचक दाबी गरे । ‘उहाँहरुले जे सहमति गर्नुहुन्छ, त्यसमा हाम्रो समर्थन हुन्छ’, रविले भने ।
रविले संकेत गरेका ‘उहाँहरु’ मा कांग्रेस पनि पर्छ । संसदको ठूलो दल कांग्रेस, जो हालको सत्ता गठबन्धनमा छैन । रविको रास्वपा, जो सरकारमा छैन, तर गठबन्धनमा छ । बालुवाटारको उच्च स्रोतले खुलायो, ‘रविजीका केही सवालहरु छन्, त्यसमा प्रधानमन्त्रीको एस्योरेन्स (सुनिश्चितता) खोजिराख्नुभएको छ । त्यो पाउनुभयो भने प्रधानमन्त्रीज्यूले समर्थन गर्ने राष्ट्रपति उम्मेदवारलाई रास्वपाले पनि साथ दिन्छ ।’
रविका सवालहरु के हुन् भन्नेबारे प्रधानमन्त्री निकट स्रोतले प्रष्ट खुलाएन, तर ती सवाल ‘व्यक्तिगत खालका भएको’ संकेत ग¥यो । पुस १० का यी साक्षीले त्यसयताका विभिन्न उतारचढावको संक्षिप्त समीक्षा गरे । अनि अरु थुप्रै ‘चरणका सहमति’ ले राष्ट्रिय राजनीति अन्तै मोडिएको इंगित गरे ।
रविसँग छलफल गरेपछि आज प्रधानमन्त्री प्रचण्डले एमाले उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग छुट्टै साउती मारे । बालुवाटार स्रोत भन्छ, ‘रविजी खुसी हुँदै जानुभयो, विष्णुजी चाहिँ दुःखी हुँदै ।’
प्रचण्डले आजै दिउँसो तीन बजे कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक डाकेका थिए । तर एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले छुट्टै भेट्न खोजेपछि उनले त्यो बैठक तत्काल रोके । अनि प्रधानमन्त्री कार्यालयबाट निस्केर त्यसैको नजिक रहेको माओवादी केन्द्रको संसदीय दल कार्यालय पसे । अरु बेला स्थान, नाम, पात्रमा हदैसम्म खोजीनीति राख्ने माधव नेपाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री कार्यालय या निवास नभई माओवादी कार्यालयमा पुग्नु आफैंमा अर्थपूर्ण कुरा थियो ।
जुन बेला प्रचण्ड राष्ट्रपति बनिदिन आग्रह गर्ने गर्थे, त्यस बेला माधव तयार भएनन् । हिजोआज माधव ‘तयार हुन’ तयार छन् । प्रचण्ड भने अन्तै हिँडिसके । भलै उनमा अलमल बाँकी छ । आज कास्की पुगेर उनले बाह्रबुँदेका सहमतिकर्ता राष्ट्रपति बन्न सक्ने परोक्ष सन्देश भने प्रवाहित गरेका छन् । प्रधानमन्त्री स्रोत भन्छ, ‘माधव कमरेडले इच्छा देखाउनुभएको छ ।’
‘कार्यकारी प्रधानमन्त्री खाइसकेको व्यक्तिले आलंकारिक राष्ट्रपतिमा इच्छा देखाउनु कत्तिको सुहाउँदो कुरा हो ?’ यो प्रश्न प्रधानमन्त्री निकट सूत्रलाई सोधिएन । किनभने मेची पुललाई देखाउँदै प्रचण्ड र माधव दुवैले छुट्टाछुट्टै मन्तव्य दिइसकेका छन् । भर्खरै मेचीमा राष्ट्रवादको अभियान छेडेका दुर्गा प्रसाईदेखि ज्ञानेन्द्र शाहसम्मलाई ललकार्दै बाह्रबुँदे सहमतिको इतिहासको सप्रेम सम्झना गरेका छन् ।
जस्तो कि, आज सोमबार साँझ अनलाइनखबरसँग माधव नेपालले भने, ‘प्रचण्डजीले बाह्रबुँदे सहमति सम्झना गर्नुभएको हो भने त्यो ठीकै छ । किनभने मेचीको पुलबाट जेजस्ता गतिविधि हुँदैछन्, के त्यो झस्काउने खालको छैन र ?’
प्रचण्डले केही नेताहरुसँग ओलीको इसारामा दुर्गा प्रसाईले राजावादी गतिविधि गरेको हुन सक्ने आशंका गरेका थिए । त्यस समेतलाई देखाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने आफ्नो कोशिसको औचित्य पुष्टि गर्न उनले खोजेका छन् । प्रचण्डले बालुवाटारमा भेट्न आएका कांग्रेस नेताहरुकहाँ एमालेको तर्फबाट माधव नेपाल उम्मेदवार बन्न सक्ने चर्चा सुनेको भनी नयाँ सूचना छिराएका थिए ।
लामो सहकार्य र तिक्त प्रतिद्वन्द्विता गरेका ओलीले नै माधवलाई राष्ट्रपति उठ्न आग्रह गरेको भनी चलेका चर्चाबारे उनले घुमाउरो संकेतसहित बोले, ‘अब हेर्नुस्, अहिले यतिबेला म केही पनि बोल्दिनँ ।’
‘उहाँ (ओली) सँग, अथवा एमालेका दोस्रो तहका नेतासँग कुरा भएको हो ?’
‘उहाँसँग होइन । तर अरुसँग कुराकानी हुन पनि सक्छ । अहिले केही बोल्ने बेला छैन । पहिले स्थिति के कसरी अघि जान्छ हेरौं न ।’
आज माओवादी संसदीय दल कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग सौहाद्र्ध कुराकानी भएको भन्दै उनले थप खुलाउन अनिच्छा जाहेर गरे ।
यति बेला कांग्रेस मिसन राष्ट्रपतिको रणनीतिमा सक्रिय छ । १० पुसमा प्रचण्डलाई नसघाए पनि २६ पुसमा विश्वासको मत दिने लहरमा कांग्रेस उभिँदा एमाले अध्यक्ष ओलीले ‘ढोक्सा नथाप्न’ चेतावनी दिएका थिए । प्रचण्डलाई भने एमालेको ७९ मत भन्दा कांग्रेसको ८९ ‘मतभार’ गह्रुंगो भइरहेको छ । त्यसयता उनले आफ्नो अभिव्यक्तिमा बदलाव ल्याउन थालेका छन् ।
पुस दोस्रो साता एमालेले आफूलाई प्रधानमन्त्री प्रस्ताव गरे पनि विश्वासको मत दिँदा सिंगो संसद आफ्नो पक्षमा उभिएपछि दायित्व बढेको उनले बताउँदै आएका छन् । राजनीतिक सूत्रहरुका अनुसार उनी कांग्रेसले अघि सार्ने उम्मेदवार भनी चर्चा गरिएका रामचन्द्र पौडेलप्रति सकारात्मक देखिएका छन् । चुनावअघि ‘निर्णायक तेस्रो शक्ति’ हुने भन्दै मत मागेका प्रचण्ड अब जता उभिन्छन्, त्यतै राष्ट्रपतिको पल्ला भारी हुने पक्कापक्की देखिन्छ ।
त्यसैले प्रचण्ड जति बालकोट जान्छन्, ओलीलाई त्योभन्दा बेसी बालुवाटार धाउनु परिरहेको छ । उनी प्रचण्डसँग संवादरत हुँदा दोस्रो तहका एमाले नेताहरु माधव नेपालसँग हिमचिम बढाउन थालेका छन् ।
माधव नेपालसँग संवादमा रहेका भनिएकामध्ये एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेबाटै राष्ट्रपति उम्मेदवार प्रस्ताव हुने दाबी गरे । ‘परिस्थिति अलिक जटिल बनाउन खोजिएको छ, तर हाम्रो बुद्धि पुग्यो भने राम्रो उम्मेदवार दिन्छौं, र हामी नै जित्छौं । जेपायो त्यही गरियो भने त भन्न सकिँदैन’, गुरुङले भने ।
उनी आफैं भने एमाले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्तावसहित सक्रिय छन् । एमाले अध्यक्ष ओलीले अहिलेसम्म मुख नखोले पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त पदमा चाहना गरेको देखिन्छ ।
यही बीचमा ओलीले माधव नेपालको नाम फ्याट्ट प्रस्ताव गरिदिए भने एमालेभित्र कस्तो परिस्थिति बन्ला ?
पोखरेलले भने, ‘अहिले यो वा त्यो व्यक्ति भन्ने केही कुरा छैन । दृश्य अदृश्य प्रयासहरु, खेलकुदहरु चलिरहेका छन् । तर एमालेबाहेक अरु व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्दैन ।’
आइतबार राति प्रचण्ड भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका शेरबहादुर देउवासँग रामचन्द्र पौडेललाई कसैगरी राष्ट्रपति बनाउने चाहना छ । यही प्रस्तावसहित उनी दौडधुपमा सक्रिय छन् ।
जनता समाजवादी पार्टीको बैठकमा आज सोमबार अध्यक्ष उपेन्द्र यादवले गरेको ब्रिफिङ सुनाउँदै एक नेताले भने, ‘प्रधानमन्त्री र देउवा दुवैजना रामचन्द्रजीलाई राष्ट्रपति बनाउन तयार भइसक्नुभयो । अब अरुको चान्स छैन । चान्स आइहाल्यो भने माधव नेपालको नाम दोस्रोमा छ । अरु कसैको छैन ।’
HamroAwaj
2023-02-20 21:40:14