प्रधानमन्त्रीले चाहे ४ महिनामा चढ्न सक्छन् हाइड्रोजन कार – HamroAwaj


२४ फागुन,काठमाडौं । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताए । उनको यस्तो खुलासापछि सामाजिक सञ्जालमा हाइड्रोजन कारबारे विभिन्न टिप्पणी भएका छन् ।

पेट्रोलियको अलवा विद्युतीय गाडीबारे चर्चा भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले हरित ऊर्जा हाइड्रोजनबाट चल्ने गाडी चढ्ने बताएपछि नेपालमा हाइड्रोजन ऊर्जाको बहस सुरु भएको छ ।मंगलबारको कार्याक्रममा प्रधानमन्त्रीले हाइड्रोजन कार चढ्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल भइरहेको बताएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल वा पेट्रोल गाडी नभई हाइड्रोजन गाडी चढ्न सुझाव दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘म प्रधानमन्त्री बन्दैगर्दा कुलमानजीले अब प्रधानमन्त्रीले डिजेल र पेट्रोलको होइन, हाइड्रोजन गाडी चढ्नुप‍र्‍यो भन्नुभयो । त्यसबारे मैले प्रधानमन्त्री कार्यालयमा छलफल गरेको छु । अब हाइड्रोजन गाडी चढ्ने तयारीमा छु ।’

उनले विकसित देशमा हाइड्रोजन ऊर्जा प्रयोग बढिरहेको र नेपालमा पनि यसको प्रचुर सम्भावना रहेको बताए । उनको यो भनाइपछि हामीले नेपालमा पहिलो पटक हाइड्रोजन ऊर्जाबारे अध्ययन गरिरहेको काठमाडौं विश्वविद्यालय (केयू)को ग्रिन हाइड्रोजन ल्याब प्रमुख डा. विराज सिंह थापालाई त्यस्तो सम्भावनाबारे सोध्यौं ।

‘प्रधानमन्त्रीले नै चाहेको खण्डमा बढीमा चार महिनामा हाइड्रोजन कारमा गुड्न सक्नुहुन्छ’, जवाफमा डा.थापाले भने, ‘त्यसका लागि उहाँको सचिवालयले पहल कदमी लिन र कुनै एक सरकारी निकायले लगानी भने गर्नुपर्छ ।’

यसरी आयो हाइड्रोजन कारको कुरा

विश्वमा हाइड्रोजन प्रयोग बढिरहँदा नेपालले वार्षिक ३ खर्ब हारहारीको पेट्रोलियम पदार्थ खरिद गरिरहेको अवस्थामा दुई वर्ष अघि नेपाल आयल निगमले हाइड्रोजनबारे अध्ययन गर्न केयूलाई १० करोड रुपैयाँ अनुदान दियो । त्यसैको परिणामस्वरुप, नेपालमा हाइड्रोजन ऊर्जा प्रयोगबारे नयाँ दृष्टिकोण बनेको छ ।

अहिले त केयूले जलऊर्जा सम्बन्धी सरकारी निकाय नेपाल विद्युत प्राधिकरणलाई कुनै जलविद्युत आयोजनाबाट हाइड्रोजन उत्पादनका लागि अग्रसरता लिन आग्रह नै गरिरहेको छ ।

डा. विराज सिंह थापा

विश्वविद्यलयका हाइड्रोजन ल्याब प्रमुख डा. थापा नेपालमा हाइड्रोजन किन जरुरी छ भनेर जान्न पहिले उत्पादन थाल्नुपर्ने, प्रोजेक्टको रुपमा सरकारी निकाय, कार्यालय र सरकार प्रमुखले हाइड्रोजनबाट चल्ने गाडी प्रयोग गरेर दोखाउनु पर्ने र त्यसैका आधारमा निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताउँछन् ।

तीन महिनाअघि विश्वविद्यालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर सुरुमा एउटा ५ सिटे कार र एउटा २४ सिटे बस हाइड्रोजनबाट चलाउन रिफ्युलिङ स्टेसन बनाउने कार्यमा आग्रसरता लिन आग्रह गरेको थियो ।

यसबारे सकारात्मक देखिएका घिसिङलाई गत साता पनि भेटेर प्रधानमन्त्रीलाई हाइड्रोजन कारका लागि आग्रह गर्न भनेको डा. थापा बताउँछन् ।

सुरुमा प्राधिकरणका कार्यकारी निर्देशकका लागि ५ सिटे कार र कर्मचारीलाई एउटा बस हाइड्रोजनबाट चलाएर हेर्न लगानी गर्नूस्, केयूले प्राविधिक सहयोग गर्छ भनिएको उनले बताए ।

‘घिसिङ सरले सुरुमा धेरै खर्च हुने कार आफूले चढ्न सुहाउँदैन, राष्ट्र वा सरकार प्रमुखबाटसुरुवात गर्न सकिन्छ भन्नुभयो’, डा. थापाले अनलाइनखबरसँग भने, ‘त्यसो भए प्रधानमन्त्रीबाट सुरु गराउँ भनेर हामीले सल्लाह दिएका थियौं ।’

१५ करोडदेखि २० करोड लागत

अहिले प्रधानमन्त्रीलाई ५ सिटे कार र प्राधिकरणका कर्मचारीका लागि २४ सिटे बस चलाउन १५–२० करोड रुपैयाँ लाग्ने केयूको अनुमान छ । त्यसमा प्राविधिक सहयोग गर्न विश्वविद्यलय तयार छ । त्यस हाइड्रोजन रिफ्युल स्टेसन पनि पर्ने डा. थापाले बताए ।

हाइड्रोजन सवारी र रिफ्युलिङ स्टेसन नयाँ प्रयोग भएकाले हाल यसको लागत मूल्य विश्वभर नै महँगो भएको उनले बताए । तर, पेट्रोलियमआयातमा भइरहेको वार्षिक ३ खर्ब खर्च हरित ऊर्जा प्रयोगबाट घटाउन यो काम थाल्नैपर्ने उनको भनाइ छ ।हाइड्रोजन प्रयोग महँगो भएपनि दीर्धकालीन रुपमा नेपालको अर्थतन्त्रका लागि आयातित इन्धनभन्दा धेरै किफायती हुने डा. थापा बताउँछन् ।

जलविद्युत उत्पादनमा फड्को मारिरहेको नेपाल यो बाटोमा जाँदा एक दिन विश्वको अग्रणी हाइड्रोजन उत्पादक र निर्यातकर्ता मुलुक समेत बन्न सक्ने उनको अनुमान छ ।

‘प्रधानमन्त्री तयार भए बढीमा ४ महिनामा हाइड्रोजन कारमा गु्डाउन सक्ने क्षमता पनि हामीसँग भइसक्यो,’ डा. थापाले भने, ‘नेपालले यो काम गर्दा विश्वभर जाने सन्देशको महत्व पनि छ । यसमा प्राधिकरणले विना हिच्किचाहट सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन कार चढ्ने सार्वजनिक घोषणा गरेपनि उनको सचिवालय भने यो परियोजनामा तत्कालै २० करोड खर्च गर्ने कि नगर्ने भन्ने अन्योलमा छ ।

‘हाइड्रोजन ऊर्जा प्रबर्द्धनको कुरा ठिकै हो,’ प्रधानमन्त्रीको सचिवालयका एक अधिकारी भन्छन्, ‘तर, प्रधानमन्त्रीले २० करोडको गाडी चढे भन्दै हुने आलोचनाको जोखम पनि हेर्नपर्ने हुन्छ ।’

प्रतिकिमि खर्च २ रुपैयाँ ६८ पैसा

अहिले विश्व बजारमा प्रतिकिलो हाइड्रोजनको औसत मूल्य ५ डलर (६५२ रुपैयाँ ४२ पैसा) छ । केयूका अनुसार, ५.६ किलो हाइड्रोजनले गाडीलाई १३ सय ६५ किलोमिटर कुदाउँछ । अर्थात्, ३ हजार ६५३ रुपैयाँ ५५ पैसाको हाइड्रोजनबाट १३ सय ६५ किमि यात्रा गर्न सकिन्छ । यो भनेको प्रतिकिमि २ रुपैयाँ ६८ पैसा हो ।

विश्वमा आक्रामक रुपमा हाइड्रोजन उत्पादन भइरहेकाले यसको मूल्य सस्तिंदै जाने वैज्ञानिकहरुले बताइरहेका छन् । फोसिल फ्युल (पेट्रोलियम ऊर्जा) प्रयोगका कारण पृथ्वीको तापक्रमबढेको भन्दै विश्वमा चिन्ता बढेको छ । कार्बन उत्सर्जन घटाउन विश्वभर नै नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइएको छ । विद्युतीय, सौर्य र हाइड्रोजन ऊर्जा प्रयोग प्राथमिकतामा छ ।

पेरिस सम्झौता (सन् २०१५) ले आगामी २०५० सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । यसअनुसार विश्वका उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरु नयाँ कानुन बनाउँदै नवीकरणीय ऊर्जा प्रयोगमा अग्रसरता देखाइरहेका छन् ।

बेलायतले २०२५ सम्म मात्र कोइला प्रयोग गर्दैछ । अन्य युरोपेली मुलुकका साथै अमेरिका, जापान, चीन र भारतले पनि नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकतामा राखेका छन् । जसका कारण विश्वभर अबको केही दशकपछि प्रमुख ऊर्जा हाइड्रोजन बन्ने निश्चित छ ।

चीनले पाँच वर्षभित्र पाँच ठूला हाइड्रोजन उद्योग खोल्ने योजना अगाडि सारेको छ भने नर्बे २०२५ सम्ममा नयाँ पेट्रोल र डिजेल कार बिक्री बन्द गर्ने योजनामा छ । विश्वका दुई प्रमुख विमान निर्माता कम्पनी बोइङ र एयरबसले अबको १२ वर्षभित्र हाइड्रोजनबाट उड्ने जहाज बनाउने घोषणा गरेका छन् ।

विश्वमा धेरै कार्बन उत्पादन गर्ने मुलुक मध्ये तेस्रो नम्बरमा रहेको भारतले सन् २०७० सम्ममा कार्बन न्यूट्रल बनाउने महत्वांकाक्षा राखेको छ । यसअनुसार २०३० सम्ममा कुल ऊर्जा खपतमध्ये ५० प्रतिशत नवीकरणीय हुने उसको प्रतिबद्धता छ ।

युरोपमा २०१८ यता हाइड्रोजन बस र कारहरुको प्रयोग बढेको छ । जर्मनीले गत अगष्टमा विश्वको पहिलो हाइड्रोजन रेलको प्रयोग सफल पारेको थियो । नेपाल पनि त्यो बाटोमा लागे साउदी अरब, कतार लगायत मुलुकले पेट्रोलियमबाट पाएको समृद्धि आगामी दशकहरुमा हाइड्रोजनबाट प्राप्त गर्ने सक्ने ऊर्जा विज्ञहरुको मत छ ।

हाइड्रोजन के हो, कसरी बन्छ ?

वैज्ञानिकहरुले २०० वर्ष अघि पहिचान गरेको यो ऊर्जा पेट्रोलियमको पेलानमा पर्दा प्रयोगको प्राथमिकतामा थिएन । पेट्रोलियम पदार्थको स्रोत रित्तिंदै र कार्बन उत्सर्जनसँगै विश्व तापमान बढ्दै गएपछि भने वातावरण सुहाउँदो हाइड्रोजन ऊर्जा प्रयोग बढ्न थालेको छ ।

केयूको हाइड्रोजन ल्याब प्रमुख डा. थापाकाअनुसार जलविद्युतलाई टुक्रयाएर हाइड्रोजन उत्पादन गरिन्छ । हाइड्रोजनबाटै बिजुली पनि निकाल्न सकिन्छ । एक किलोग्राम हाइड्रोजनबाट ५० युनिट बिजुली निकाल्न सकिने उनले बताए ।

घलेदखि अडानीसम्मको आँखा

गैरआवासिय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले नेपालमा पहिलो पटक हाइड्रोजन सम्मेलन गरे । एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष रहेका उनले काठमाडौंमा आयोजित दुई दिने सम्मेलनमा भनेका थिए, ‘नेपाल र साउदी अरबले हाइड्रोजन उत्पादन गरेर विश्व बजारमा बेन्चमार्क मूल्यमा बिक्री गर्न सक्ने एक अध्ययनले देखाएको छ । अब यो हरित ऊर्जामा नेपालले नै विश्वव्यापी नेतृत्व लिनुपर्छ ।’

७० अर्ब डलर लगानी गरेर २०३० भित्र विश्वकै ठूलो हरित ऊर्जा उद्योगी बन्ने महत्वकांक्षा लिएका भारतीय खर्बपति गौतम अडानीले पनि नेपालको जलविद्युतमा आँखा लगाएको सरकारी अधिकारीहरु बताउँछन् ।

उनीहरुका अनुसार, अडानी समूहले १० हजार मेगावाटको कर्णाली चिसापानी आयोजनामा लगानी गर्न चासो देखाएको छ । नेपालमा अडानी समूहको जलस्रोत आकर्षण विजुलीको लागि नभई हाइड्रोजन उत्पादनसँग सम्बन्धित भएको भएको अधिकारीहरु बताउँछन् ।





Source link

HamroAwaj

2023-03-08 19:34:13

Leave a Comment