३ चैत, काठमाडौं । कलेज पोशाकको विषयलाई लिएर प्रशासन र विद्यार्थीबीच असमझदारी हुँदा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस तेस्रो, चौथो र अन्तिम वर्षको पठनपाठन तीन दिनदेखि अबरुद्ध भएको छ ।
डा. अरुण न्यौपाने प्रिन्सिपल हुँदा स्क्रब लगाएर क्लीनिकल वर्षहरुमा पढाइ गर्न दिएको संस्थानले अहिले फेरि नियमित पोशाकमा आउन भनेपछि पढाइ अबरुद्ध भएको हो । संस्थान स्रोतका अनुसार यसबाट झण्डै ३ सय जना विद्यार्थी प्रभावित भएका छन् ।
पहिले जारी सूचना अनुसार विद्यार्थीले प्रति सेट ३६ सय रुपैयाँ तिरेर स्क्रब किनेका थिए । तर, एक्कासी नियमित पोशाकमा आउनु भन्दै ‘क्लीनिकल एयर’का विद्यार्थीको नाममा सूचना जारी भएको स्रोतले अनलाइनखबरलाई बतायो ।
एक अधिकारीका लागि अनुसार विगतमा संस्थानले नै स्क्रब लगाएर पठनपाठन गर्ने व्यवस्था गरेपछि अन्य कलेजले पनि यो सुविधा दिएका थिए । तर, एक्कासी अहिले के कारणले निर्णय फेरियो भन्ने बुझ्न नसकेको ती अधिकारीले बताए ।
विद्यार्थीले प्रशासनसमक्ष निर्णय फिर्ता लिन अनुरोध गरेका छन् । संस्थानले भने प्राध्यापकहरुलाई विद्यार्थी पोशाकमा नआउञ्जेल नपढाउन निर्देशन दिएका छन् । एक कर्मचारीका अनुसार अध्यापन गर्दा अस्पतालको काम छाडेर शुक्रबार संस्थान पुगेका प्राध्यापकले पढाउन खोज्दा सैनिक अधिकारीहरुले रोकेका थिए ।
एक कर्मचारीका अनुसार सैनिक अधिकारीले तेस्रो वर्षको कक्षामा विद्यार्थी पुग्नु अगावै ताला लगाएका थिए । ‘अहिले पनि फार्मेसीसहित इन्ट्रनले स्क्रब लगाइरहेका छन्, क्लीनिकललाई मात्र किन रोकियो भन्ने प्रशासनले केही बताएको छैन’, एक अधिकारीले भने ।
स्रोतका अनुसार ३०० जनाले गरिरहेको माग सुनुवाइ नहुञ्जेल पोशाक परिवर्तन गर्ने पक्षमा विद्यार्थी छैनन् । तर, कलेजले हालसम्म उनीहरुलाई छलफलमा समेत नबोलाएको विद्यार्थीको गुनासो रहेको संस्थानका अधिकारीहरु बताउँछन् ।कलेजका एक शिक्षकले चाहिँ विगतमा कोभिड महामारी भएकाले स्क्रब लगाउन दिए पनि अहिले फरक परिस्थिति भएकाले नियमित पोशाकमा आउन भनिएको जिकिर गरे ।
HamroAwaj
2023-03-17 19:00:18