नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा गौतम निर्विरोध – HamroAwaj


४ चैत, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा विदुर गौतम निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको पहिलो साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

अध्यक्षबाहेक बाँकी सबै पदाधिकारीमा निर्वाचन भएको छ । वरिष्ठ उपाध्यक्षमा हेराकाजी महर्जन निर्वाचित भएका छन् । ७० मत पाएका उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरेका हुन् ।

दुईजना उपाध्यक्षका लागि चारजना चुनावी प्रतिस्पर्धामा थिए । जसमा ज्ञानेन्द्र पराजुली ६६ र धनबहादुर बोगटी ५८ मत ल्याएर निर्वाचित भएका छन् । विश्वविजय घिमिरे र माधव प्रधान पराजित भए ।

महासचिवमा धरमबहादुर लामाले सुवोध शेर्पालीलाई २ मतले पाराजित गरेका छन् । विजयी भएका धरमले ५१ मत ल्याए भने शेर्पालीले ४९ मत ल्याए ।

उपमहासचिवमा मोनालिस खम्बो निर्वाचित भइन् । ४१ मत ल्याएकी उनले तीन प्रतिस्पर्धीलाई पछि पारिन् । उपमहासचिवमा निरज निरौला, उमेश चौलागाईं र यज्ञराज पन्त उम्मेदवार थिए ।

कोषाध्यक्षमा ५७ मत ल्याएर ताराबहादुर रानाभाट विजयी भएका छन् । उनले रामकिशोर सिंह परागलाई पराजित गरे ।

खुला सदस्यमा ६ जनाका लागि २० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये प्रतिमा महत क्षेत्री (५४ मत), सुशील चौधरी (४१ मत), चन्द्रमणि गैरे (४० मत), राजेन्द्रकुमार पराजुली (३३ मत), निरन्जन प्रजापति (३२ मत) र राजु ताम्राकार (३२ मत)  विजयी भए ।

बुद्धिचाल महासंघको नयाँ विधानअनुसार केन्द्रीय निर्वाचनका लागि ११८ जना मताधिकारप्राप्त प्रतिनिधि रहनेछन् । कार्यसमिति वा तदर्थ समितिबाट २१, ५५ जिल्लाबाट १–१ जना, सात प्रदेशबाट ५–५ जना, राष्ट्रिय च्याम्पियन २ (महिला र पुरुष), च्याम्पियन क्लव २, टेक्निकल कमिटीबाट २ र अन्तर्राष्ट्रिय संघ महासंघमा प्रतिनिधित्व गरेका १ जनाले कार्यसमिति चयन गर्न मतदान गर्न पाउनेछन् ।

सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि शुक्रबार अबेरदेखि सुरु भएको निर्वाचनमा १०३ जना प्रतिनिधिले मतदान गरेका थिए । शनिबार विहानसम्म निर्वाचन प्रक्रिया सन्चालन भएको थियो ।

नेपाल बुद्धिचाल संघले गएको असार २५ गते कार्यसमितिको निर्वाचन सम्पन्न गरेको थियो । त्यतिबेल पनि गौतम नै अध्यक्षमा निर्वाचित भएका थिए ।

तर, विधान संशोधन गरेर आफूसँग स्वीकृत नगराई सिधै निर्वाचन गर्दा प्रक्रिया पूरा नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपले १४ पुसमा संघ विघटन गरी महासंघ बनाएर तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तदर्थ समिति निर्माण गरेको थियो ।

अध्यक्षमा निर्वानिच भएको ६ महिना नवित्दै संघ विघटनमा परेका गौतमले नै तदर्थ समितिको पनि नेतृत्व लिएका थिए । तीन महिनाभित्र पुनः निर्वाचित भएर नेपाल बुद्धिचालमा संघ र महासंघ दुवैको अध्यक्ष बन्ने अवसर गौतमले पाएका छन् ।

बुद्धिचाल महासंघको नयाँ विधानअनुसार २१ सदस्यीय कार्यसमितिमा पदाधिकारीसहित १३ जना निर्वाचित हुनेछन् । दुई उपाध्यक्ष र चारजना सदस्य कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । बाँकी दुईजना सदस्य भने राखेपले मनोनयन गर्नेछन् ।





Source link

HamroAwaj

2023-03-18 19:47:16

Leave a Comment