काठमाडौं । गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गायक विष्णु सापकोटासँगको एक युगल तस्वीर सार्वजनिक गरेकी छन् जसले यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई बल दिन्छ । टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको अफेयर रहेको हल्ला चलेको थियो ।
हप्तौं बितेपनि ती गसिपलाई गायिका चौहान र सापकोटा दुबैले खण्डन गरेका छैनन् । बरु, एलिनाले इन्स्टाग्रामबाट विष्णुसँगको तस्वीर सेयर गर्दै अफेयरमा रहेको हुनसक्ने संकेत गरेकी छन् । दुबैजना सँगै रहेको उक्त तस्वीरको क्याप्सन पनि अर्थपूर्ण छ जसले उनीहरु प्रेममा छन् भन्ने अनुमानलाई सत्य सावित गर्छ ।
एलिना लेख्छिन्, ‘ तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिँदैन । तिम्रो साथले मलाई जीवित राख्छ ।’ स्टाटसको पुछारमा एलिनाले हार्ट-इमोजी उल्लेख गरेकी छन् । एलिनाले पहिलोपटक सार्वजनिकरुपमा प्रेमलाई स्वीकारेकी हुन् । उनको उक्त पोस्टमा फ्यानले बधाई दिइरहेका छन् ।
गीतकार समेत रहेका सापकोटाले एलिनासँग मिलेर ‘बाजा तालमा’ बोलको गीत ल्याएका छन् । एलिनाले हालै अष्ट्रेलियाको सांगीतिक भ्रमण गरेकी थिइन् जहाँबाट यी दुईले लगातार टिकटक भिडियो पोस्ट गरिरहेका थिए । निकट स्रोतका अनुसार यी दुईले भविष्यको योजना समेत बुनिरहेका छन् ।
HamroAwaj
2023-03-19 16:03:33