एउटा यस्तो कालखण्ड आयो कि पूरै मेसिनहरूको जगजगी भयो। जताततै मानव जीवन संकटमा पर्यो। रोजगार खोसिएको थियो। अवस्था दिन–प्रतिदिन कष्टकर बन्दैथियो। मेसिनहरूको आक्रमण मान्छेका हरेक पक्षहरूमा बढ्दो थियो। मानवीय श्रमको फुटेको कौडी जति पनि मूल्य थिएन। स्वचालित मेसिनहरू मान्छेको नियन्त्रण बाहिर गइसकेका थिए। अन्नहरूको समेत चौतर्फी अभाव थियो। विना कुनै रोकटोक मेसिनहरू मान्छेको भविष्य कुल्चँदै सडकहरूमा फुक्काफाल घुम्न थालेका थिए।
जीवन रक्षाको लागि मान्छेहरू एकजुट भएका थिए। उनीहरूले एक नाइके पनि चुनेका थिए। उनीहरू निराश, निरीह र निर्बल थिए। त्यत्तिकैमा सुसमाचार आयो कि मेसिनहरू विरुद्ध लड्ने अस्त्र फेला पर्यो सगरमाथाको काखमा। सारा मान्छेहरू नाइकेलाई पछ्याउँदै सगरमाथाको आधारभूमितिर लम्किए।
लामो यात्रापछि तिनीहरू सगरमाथाको आँगनमा आइपुगे। त्यहाँ मोती जडित एक जाज्वल्यमान सुनको सन्दुक देखे जसबाट एक दिव्य प्रकाश चारैतिर फैलिरहेको थियो। नाइकेले विस्तारै विस्तारै सन्दुक खोल्यो। आशावादी नजरहरू सबै त्यतै सोझिए।
र, त्यहाँ जे थियो त्यो देखेर सबै खुसीले ह्वाँ ह्वाँ रुन लागे। एकअर्कालाई अँगालेर खुसी साटासाट गर्दै रमाउन थाले। हर्ष र खुसीमा नाइकेले उद्घोष गर्यो, ‘अब हामीले शक्तिशाली अस्त्र पाइसक्यौं। अब फेरि मान्छेको युग सुरु हुनेछ। अब हाम्रो जित पक्का छ। मान्छेले भुलेको आफ्नो चेतना र इमोशन फेरि प्राप्त गर्नेछन्।’ सबैले परर्र ताली बजाए। सबै खुशीले गद्गद् भए।
उक्त सन्दुकभित्र थियो मानव हस्तलिखित, मानवीय संवेदनाले भरिपूर्ण एक सुन्दर कविता।
HamroAwaj
2023-04-15 12:25:45