७ वैशाख, काठमाडौं । मोहम्मद सिराजले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्सलाई २४ रनले पराजित गरेको छ ।
पञ्जावको घरेलु मैदान मोहलीमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले फाप डु प्लेसिस र विराट कोहलीको अर्धशतकमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । यी दुईले पहिलो विकेटका लागि १३७ रनको साझेदारी गरे ।
यस खेलमा नियमित कप्तान फाप डु प्लेसिस इम्प्याक्ट प्लेअरको रुपमा रहे पनि कोहलीले कप्तानी जिम्मेवारी सम्हालेका थिए ।
डु प्लेसिसले ५६ बल खेल्दै ५ चौका र ५ छक्का मदतमा सर्वाधिक ८४ रन बनाए । कोहलीले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरी ५९ रन बनाए ।
महिपाल लोमरोर ७ र शाहबाज अहमद ५ रनमा अविजित रहे । पञ्जावका हरप्रित ब्रारले २ तथा अर्शदिप सिंह र नाथन एलिसले समान १ विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याएको पञ्जावले १८.२ ओभरमा सबै विकेट गुमाएर १५० रनमै अलआउट भयो ।
पञ्जावका लागि प्रबसिमरन सिंह ३० बलमा ३ चौका र ४ छक्का प्रहार गरी सर्वाधिक ४६ रन बनाए । जितेश शर्माले २७ बलमा ४१ रन जोडे ।
पञ्जावलाई अलआउट गर्न बेंगलोरका सिराजले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।
पावर प्लेमा २ विकेट लिएका उनले अन्तिम दुई विकेट पनि झारे । वानिन्द् हसरंगाले २ तथा वायने पार्नेल र हर्शल पटेलले समान १ विकेट लिए ।
HamroAwaj
2023-04-20 20:11:44