१३ वैशाख, काठमाडौं । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार न्यु डायमण्ड क्लबलाई हराउँदै एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा एपीएफले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गर्दै न्यु डायमण्डलाई ३-२ को सेटमा हराएको हो ।
एपीएफले न्यु डायमण्डलाई १७-२५, २५-१९, २३-२५, २५-२०, १५-१० ले हराएको हो । जितसँगै एपीएफ समूह बीको विजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
न्यु डायमण्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । अब एपीएफले बिहीबार हुने सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
त्यस्तै न्यु डायमण्डले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुरुषतर्फ एपीएफले पाटन मल्टिपल क्याम्पसलाई २५–१७, २५–१०, २५–१८ ले सहजै हरायो ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ललितपुर महानगरपालिकालाई २५-११, २५-१७, २५-२१ ले पराजित गर्यो ।
प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।
HamroAwaj
2023-04-26 19:37:22