यूएईलाई हराउँदै एसिया कपमा नेपाल – HamroAwaj


अविजित ६७ रन बनाएका गुल्शन झा

१९ वैशाख, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

११८ रनको समान्य लक्षय पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्सन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।

लगतै कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबावमा परेको थियो । तर गुल्सनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुबैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।





Source link

HamroAwaj

2023-05-02 11:47:09

Leave a Comment