२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले नयाँ पुस्तालाई पार्टीले बेवास्ता गरेको गुनासो गरेका छन् ।
कांग्रेसका संस्थापन इतर पक्षका युवा नेताहरुले काठमाडौंमा भेला गर्दै नयाँ उमेर समूहप्रति ध्यान नदिँदा कांग्रेस पराजित हुने परिस्थिति बनेको बताए ।
कांग्रेस नेता गुरुराज घिमिरे गठबन्धनको संस्कृतिले कांग्रेस कमजोर भएको बताए । ‘हाम्रो भोट कहिले हसिया हथौडामा हाल्न भनेको छ । कहिले कहाँ हाल्न भनेको छ, नयाँ पुस्ताले कहाँ कहाँ हाले हाले’, घिमिरेले भने ।
कांग्रेसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादी प्रमुख चुनौतीका रुपमा देखिएको घिमिरेले बताए ।
गत महाधिवेशनमा पुस्तान्तरणको लागि प्रयास गरेको तर आंशिक सफलता मात्रै प्राप्त गरेको घिमिरेले सुनाए । ‘शेरबहादुर देउवालाई हटाउन खोजेकै हौं, नसकेकै हौं’, घिमिरेले भने, ‘कोशिस आंशिक रुपमा सफल भयो । गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्री बनाउन सक्यौं । पुस्तान्तरणको एउटा प्रयास भयो ।’
कांग्रेसको मूल नेतृत्वमा सुधार आउला कि भनेर प्रतिक्षा गरेपनि परिणाम प्राप्त नभएको उनले सुनाए । मूल नेतृत्वले गरेको गलत कार्यमा आगामी दिनमा भण्डाफोर गर्ने घिमिरेले बताए ।
तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाहीले युवा पुस्ताको बललाई कांग्रेसले चिन्न नसक्दा क्षति बेहोरेको बताए । ‘युवाको मत चाहिन्छ भने नेविसंघ र तरुण दलमा एक जना मान्छे राखेर चुनाव जित्न खोजेको हो ?’ नेतृत्वलाई उनले प्रश्न गरे, ‘चुनाव जित्ने हो भने युवाको भोट चाहिन्छ कि चाहिँदैन ?’
HamroAwaj
2023-05-04 18:48:36