२९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले भारतमा जारी इन्डियन महिला लिग फुटबलको एकै खेलमा डबल ह्याट्रिकसहित ७ गोल गरेकी छन् ।
सावित्राको सानदार प्रदर्शन गोकुलम केरालले शुक्रबार समूहको अन्तिम खेलमा मुम्बई नाइट एफसीलाई ११-१ को फराकिलो अन्तरले हरायो ।
सावित्राले यसअघि ६ खेलमा चार ह्याट्रिक गरिसकेकी छन् । उनले समूह चरणमा ७ खेल खेल्दा पाँच खेलमा ह्याट्रिक (३ गोल) भन्दा बढी गोल गरेकी छन् ।
जारी लिगमा उनको यो पहिलो डबल ह्याट्रिक हो । सावित्राले यसअघि एक खेलमा ५ तथा तीन खेलमा समान ४ गोल गरेकी थिइन् भने एक खेलमा २ गोल गरेकी थिइन् । एक खेलमा भने उनले गोल गर्न सकिनन् ।
सावित्राले समूह चरणमा ७ खेलबाट २६ गोल गर्दै सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् ।
उनले दोस्रो स्थानको काजल डे सुबा भन्दा १७ गोल बढी गरिसकेकी छन् ।
अहमदावादस्थित शाहीबग पुलिस स्टेडियममा भएको खेलमा सावित्राले पहिलो हाफमै चार गोल गर्दा दोस्रो हाफमा तीन गोल थपिन् ।
उनले ११औं,१६औं र ३२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै ३९औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।
दोस्रो हाफमा ५५औं र ८९औं मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पूरा गरेकी उनले इन्जुरी टाइमको तेस्रो मिनेटमा व्यक्तिगत सातौं गोल गरिन् ।
गोकुलम केरलाका लागि सान्धिया रंगनाथानले १५औं र ५७औं, कप्तान इन्दुमथि काथिरेसनले १०औं तथा असेम रोजा देभीले समान एक गोल गरिन् ।
यसअघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको गोकुलम केरालाले ७ खेलबाट १९ अंक जोड्दै समूह ए को शीर्ष स्थानमा रह्यो ।
नेपाली टिमकै फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्ट्स ओडिसा ७ खेलबाट १३औं अंक जोड्दै दोस्रो र समान १३ अंक जोडेको इस्ट बंगला एफसी तेस्रो स्थानमा रह्यो ।
होप्स एफसी १२ अंक जोडेर चौथो भयो । समूह बी बाट शीर्ष चारमा रहेका टोली क्वाटरफाइनल प्रवेश गरेका छन् ।
HamroAwaj
2023-05-12 21:22:16