चर्च ब्वाइज क्लब आर्मीसँग पराजित – HamroAwaj


३० वैशाख, काठमाडौं । जिलेस्पीजंग कार्कीको निर्णायक गोलको सहयोगमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले उपाधि दाबेदार चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलको ४३ औं मिनेटमा जिलेस्पीले जितेन्द्र कार्कीको क्रसलाई पेनाल्टी बक्सभित्र रहेका जिलेस्पीले हेडमार्फत जाली चुमाउँदा आर्मीले बलियो प्रतिद्वन्द्वी चर्च ब्वाईजसँग स्पष्ट तीन अंक खोस्न सफल भएको हो ।

खेलमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न असफल भएका थिए । १९ औं मिनेटमा आर्मी नवयुग श्रेष्ठको फितलो प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा त्यसको केही सेकेन्ड्समै दिनेश हेन्जनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गदै आर्मीको काउन्टरलाई विफल बनाएका थिए ।

२४औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा नवयुगको हेडर प्रिसोले बचाए । २८ औं मिनेटमा चर्च ब्वाइजका मौसम सुब्बाले गोलको सुनौलो अवसर गुमाए । पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका मौसमको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल पारे ।

इन्जुरी समयमा मिलन राईको फ्रिकिकमा जोसेफ बेम्पाको गोलकिपर विकेसले बचाउँदा चर्च ब्वाइजले बराबरी गर्ने अवसर गुमायो ।

जितसँगै १७ खेलमा २४ अंक जोडेको आर्मी पाँचौं स्थानमा उक्लिएको छ । पराजयसँगै चर्च ब्वाईजले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । चर्च ब्वाइज समान खेलबाट ३० अंकका साथ दोस्रो स्थानमा कायम छ ।





Source link

HamroAwaj

2023-05-13 20:32:47

Leave a Comment