भारतले भैरहवाबाट दिल्लीमा उडान अनुमति नदिनुको अर्थ – HamroAwaj


१० जेठ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को योजना सफल भइदिएको भए आगामी १८ जेठदेखि प्रत्येक सोमबार राति काठमाडौंबाट मलेसियाको क्वाललम्पुर पुग्ने विमान मंगलबार भैरहवा फर्किएपछि त्यहीँबाट दिल्ली पुग्थ्यो, अनि दिल्लीबाट काठमाडौं आउँथ्यो । तर, निगमले योजना बदल्दै २९ जेठदेखि काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान तय गरेको छ ।

निगमले किन योजनाअनुसार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीमा किन उडान गरेन त ? नेपाल वायुसेवा निगमका गणेशकुमार घिमिरे भन्छन्,‘भारतले हाललाई भैरहवाबाट दिल्ली उडान गर्न अनुमति दिएन, हामीले दिल्लीलाई हटाएर उडान तालिका बनायौं, त्यो प्रक्रियामै छ ।’

भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न चाहेको बुद्ध एयरलाई आफ्नो सहरहरुमा अन्तर्राष्ट्रिय उडानको अनुमति दिन आनाकानी गरिररहेकै छ । तर, अहिलेसम्म भैरहवाबाट भारतका सहरहरुमा उडान गर्न कुनै प्रस्ताव गएको थिएन ।

नेपाल सरकारको स्वामत्विमा रहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भैरहवामा भारतमा उडान गर्न पहिलो प्रस्ताव गरेपछि भारतले खुरुक्कै अनुमति दिने अपेक्षा थियो । तर, त्यस्तो भएन । भारतले जसरी अस्पष्ट जवाफ दिएर पोखराबाट भारतका सहरहरुमा गर्न प्रस्ताव गरिएका उडान अनुमति टारिररहेको छ, त्यही शैलीमा दिल्ली उडानको अनुमति पनि रोकेको छ ।

‘निगमको भैरहवा–दिल्ली उडान प्रस्ताव पनि रोकेपछि भारतले भैरहवा र पोखरालाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा व्यवहार नै गर्न नचाहेको स्पष्ट भएको छ,’ प्राधिकरणका एक अधिकारीले भने,‘अब भैरहवा र पोखराका विमानस्थललाई भारतका हवाई गन्तब्यसँग जोड्ने योजना तत्कालका लागि टर्‍यो ।’यसैपनि नेपालको हिमालय एयरलाइन्सलाई भारतले काठमाडौंबाट समेत आफ्ना सहरहरुमा उडान भर्न मिल्ने गरी वैधानिकता दिएको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले भारतमा उडान अनुमति नपाइरहेको अवस्थामा नेपाल एयरलाइन्सलाई भैरहवाबाट उड्न नदिएपछि अब भैरहवासँग भारतीय सहरहरुमा उडान गर्न तत्कालकै अवस्थामा सम्भन नहुने स्पष्ट भएको छ ।

नेपाल एयरलाइन्सलाई नै अनुमति नदिएपछि भैरहवाबाट भारतका सहरहरुमा ट्रान्जिट गरेर अन्य गन्तब्यमा जाने विदशी एयरलाइन्सलाई पनि भारतले अनुमति नदिने स्पष्ट देखिएको अधिकारीहरु बताउँछन् ।

नेपाल र भारत सरकारबीच भएको हवाई सेवा सम्झौताअनुसार नेपाल र भारतका सबै सहरहरुमा उडान भर्न अनुमति लिनेबाहेकको प्रक्रिया छैन । तुरुन्तै दिन सक्ने अनुमति रोकेर भारतले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलललाई पनि पोखराकैसरहको व्यवहार देखाएको छ ।

सञ्चालनमा आएको एक वर्ष बितिसक्दा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल अहिले उडान विहीन छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हाल आन्तरिक उडानमा सीमित छ ।

६ पुसदेखि २५ फागुनसम्म उडान रोकेको जजिराले आन्तरिक कारण देखाएर केही हप्तादेखि भैरहवामा उडान रोकेको छ । जजिराले प्राविधिक कारण देखाएर उडान कहिलेबाट फेरि सुरु गर्छ भन्ने निश्चित गरेको छैन ।

जजिराले यसअघि हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्दै आएको थियो । २ जेठ २०७९ मा उद्घाटन भएको विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा लगानी गरेकाहरु चिन्तित छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सक्छ । तर, अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीले उडानमा चासो देखाएका छैनन् । चासो देखाएका कम्पनीले पनि गन्तब्य देशबाट अनुमति नपाउने अवस्था आएपछि विमानस्थलका अधिकारीहरु चिन्तित छन् ।

उनीहरुका अनुसार नेपाली एयरलाइन्सहरुले तत्कालै भारतलाई गन्तब्य बनाएर भैरहवाबाट उडान समेत गर्न नपाउने निश्चित भएको छ ।

अनुदार भारतको ‘मौन सन्देश’

भैरहवा विमानस्थल सञ्चालनलाई सहज वातावरण बनाउन भारत सरकार पहिलेदेखि नै अनुदार देखिएको थियो । भैरहवालाई अत्यावश्यक रहेको पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुटबारे भारतले छलफल नै गर्न चाहेको छैन ।

३२ अर्बभन्दा बढी लागतको भैरहवा विमानस्थलका लागि नेपालबाट हवाई प्रवेश विन्दुसहितका रुट अत्यावश्यक छ । भारतले पश्चिमबाट एयर रुट दिए यो विमानस्थलमा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु आकर्षित विमानस्थलका अधिकारीहरु बताउँछन् । यी रुटहरु पोखराका लागि पनि पायक पर्ने र अत्यावश्यक हुन् ।

नेपालमा हुनेमध्ये ६०–७० प्रतिशत अन्तर्राष्ट्रिय उडान पश्चिम नेपालकै रुटबाट हुन्छ । तर, नेपालमा हवाई सेवा सुरु भएदेखि नै अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले सिमराकै हवाई विन्दु प्रयोग गर्नु परिरहेको छ । भुटानबाट आउने विमानले पूर्वको झापा र ल्हासाबाट आउने विमानले नुनिम विन्दु (ब्राबो ३४५) हवाई विन्दु पाएका छन् ।

पश्चिम रुट (गल्फ ५८९) खाडी राष्ट्र अर्थात् मध्यपूर्वी देशहरु, टर्की, भारतको नयाँ दिल्ली जस्ता क्षेत्रबाट उडान भर्ने विमानहरु आउँछन् । पूर्वी रुट (रोमियो ५८१) बाट भने भारतको कोलकातासहित बंगलादेश, थाइल्यान्ड, मलेसिया, हङकङ, सिंगापुरलगायतका क्षेत्रबाट विमानहरुले उडान भर्छन् ।

पश्चिम र पूर्वतर्फ भारतले नेपालले मागेअनुसार प्रवेश विन्दु नदिँदा भारतीय भूमि हुँदै सिमारासम्म आउनुपर्ने झन्झटका कारण नेपाल आउने विमानले घुमाउरो रुट प्रयोग गर्नु परिरहेको छ । पूर्व वा पश्चिम जुन रुटबाट आएपनि विमानहरु सिमराकै विन्दुमा आएर काठमाडौं प्रवेश गर्न बाध्य छन् ।

भारतले महेन्द्रनगर वा पश्चिम नेपालको कुनै भागबाट प्रवेशविन्दुका लागि अनुमति दियो भने नेपाल आउने ७० प्रतिशत विमान सिमरातर्फ नगई सोझै नेपालको आकाशमा प्रवेश गरेर काठमाडौं, पोखरा र भैरहवामा अवतरण गर्न सक्छन् ।

तर, भारतले नेपाललाई वर्षौंदेखि सिमराको हवाई विन्दु मात्रै प्रयोग गर्न दिएर पूर्व–पश्चिमबाट आउने सबै विमानलाई आफ्नो एयरस्पेस प्रयोग गर्न बाध्य पारेको छ । यसरी नेपाल आउने विमानले लामो समय भारतीय आकाश प्रयोग गरेबापत सम्बन्धित वायसेवा कम्पनीले तिर्नुपर्ने नेभिगेसनसहित विभिन्न सेवा शुल्क भारत सरकारकै पोल्टामा पुगिरहेको छ ।

नेपालले मागअनुसार प्रवेश विन्दु पाउने हो भने नेपाली आकाशको प्रयोगबाट नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुले सेवा शुल्कहरुबाट आम्दानी पनि गर्नसक्ने थिए । अहिलेको अवस्थामा भने घुमाउरो रुटले बढी समय लागेर विमान कम्पनीहरुको खर्च बढेको छ । यति मात्रै होइन यात्रुको हवाई टिकट पनि महंगिएको र लम्बिएको एयर रुटका कारण वायु प्रदूषण समेत बढेको छ ।

विज्ञहरुका अनुसार जति लामो उडान हुन्छ, उति नै हवाई सुरक्षा जोखिम पनि बढ्दै जान्छ । भैरहवामा उडान गर्ने विमानले भैरहवा वा महेन्द्रनगरबाट एयर रुट पाए उडान समय २५ मिनेट छोटिन्छ । सिमाराबाटै प्रवेश गरेर पोखरा पुग्नुभन्दा भैरहवाबाटै प्रवेश गर्न अनुमति पाए उडान समयावधि र लागत दुवै घट्छ । उडान लामो हुँदा विमान सञ्चालन खर्च बढेर कम्पनीहरुको नाफाको हिस्सा गुम्छ । यसले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न चाहाने एयरलाइन्सहरुलाई पनि निरुत्साहन गरिदिन्छ ।

यस्तो अवस्था जान्दाजान्दै पनि भारत नेपाललाई पूर्व सहमतिअनुसार एयर रुट समेत दिन तयार छैन । विमानस्थल सञ्चालनमा एयर रुटले व्यवधान ल्याएकोबारे जानकार हुँदाहुँदै पनि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल पनि गरेको छैन । हवाई विभागका पूर्वमहानिर्देशक तथा पूर्वासचिव यज्ञप्रसाद गौतम भारतले सद्भाव देखाएरै पश्चिम नेपालबाट प्रवेश विन्दु दिनुपर्ने बताउँछन् । ‘उच्चस्तरबाट पहल गरेर सद्भावको वातावरण बनाउने काम नेपालको पनि हो’, उनी भन्छन् ।

एयर रुट मात्रै हैन, गौतमबुद्ध विमानस्थलमा नेपालले जोडेको कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्नसक्ने प्रणाली ‘आईएलएस’ प्रयोग गर्न समेत भारतले अनुमति दिन रोकेको छ । विमानस्थलमा जोडेको यो प्रणालीको फ्रिक्वेन्सीले भारतको सीमा क्षेत्रको करिब २ किलोमिटर एयर स्पेस लिएपछि यसको प्रयोगमा भारतको अनुमति चाहिने अवस्था आएको थियो । तर, अनुमति दिन भारतले पटक्कै इच्छा नै देखाएको छैन । जबकी झापाको भद्रपुरमा आन्तरिक विमानस्थल भएकै कारण त्योभन्दा बढीको एयर स्पेस प्रयोगमा भारतले कुनै रोततोक गरेको छैन ।

आईएलएसको प्रयोग गर्न पाएर भैरहवा उडान सुरक्षित भएर त्यसले पनि वायसेवा कम्पनीलाई भैहवा उडानमा प्रोत्साहन मिल्ने विश्वास प्राधिकरणका अधिकारीहरुको छ । तर, जति अनुरोध गर्दा पनि भारतले सुनुवाइ नगरेपछि अहिले भैरहवा विमानस्थलका प्रमुखसहितको टोली एयरपोर्ट अथोरिटी अफ इन्डियासँग छलफल गर्न भारत पुगेको छ ।

तर, भारतको कुशीनगरमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यसँग चिन्तित रहेको भारत सरकार भैरहवाका लागि सजिलै ‘एयरस्पेस’ दिन्छ भन्नेमा नेपाली अधिकारीहरु आशावादी छैनन् ।

भारत नेपालका चीन सरकारले लगानी गरेका परियोजनामा मात्रै हैन, चिनियाँ ठेकेदारमार्फत बनेका परियोजनासँग समेत व्यवसायिक ढंगले जोडिन चाहिरहेको छैन । पूर्ण स्वदेशी लगानीमा बनेको तर चिनियाँ ठेकेदारले सिभिलतर्फको निर्माण गरेको तामाकोशी जलविद्युत आयोजनाको बिजुली नकिनेर भारतले नेपाललाई यस्तो सन्देश दिइसकेको थिया । भैरहवा–दिल्ली उडान रोकेर भारतले नेपाललाई आफ्नो रणनीतिबारे थप पाठ पढाएको छ ।

यही बुझेर प्राधिकरणका अधिकारीहरुले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भारतीय विमानस्थलसँग उडानमार्फत जोड्न आफ्नो तहबाट नहुने भन्दै हात उठाइसकेका छन् । ‘अब नेपाल–भारत प्रधानमन्त्री स्तरको वार्ताले मात्रै यी समस्याहरु हल गर्न सक्छन्,’ प्राधिकरणका एक अधिकारीले भने ।





Source link

HamroAwaj

2023-05-24 21:14:32

Leave a Comment