११ जेठ, काठमाडौं । ओलम्पिक खेलेका नेपाली खेलाडीको संगठन नेपाल ओलम्पियन्स संघले पोखरामा दोस्रो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको संयोजनमा जेठ २० र २१ सम्म कार्यक्रम गर्न लागिएको संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
जेठ २० गते विहान प्रभातफेरी तथा साँझ पुनर्मिलन तथा सम्मान कार्यक्रम हुनेछ ।
भोलिपल्ट गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी र खेल प्रेमीसँग ओलम्पियनको अन्तरक्रिया कार्यक्रम हुनेछ ।
सन् १९६४ देखि नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।
सन् २०२० सम्म आउँदा ग्रिष्मकालीन र शीतकालीन गरी ९० जना ओलम्पियन रहेकोमा १० जनाको निधन भइसकेको संघले जनाएको छ । बाँकीमध्ये केहि विदेशमा रहेका कारण यो कार्यक्रममा ५० जना ओलम्पियनको सहभागिता रहने संघको विश्वास छ ।
सर्भिस टू सोसाइटी, सर्भिस टू ओलम्पियन भन्ने नाराका साथ विश्व ओलम्पियन महासंघको स्थापना भएको थियो ।
नेपाल ओलम्पियन्स संघ सोही महासंघअन्तर्गत छ । गत वर्ष ओलम्पियन दीपक विष्टको सक्रियतामा यो संघले पुनर्ताजगी पाएको थियो ।
त्यसयता संघले पुनर्मिलन तथा सम्मान, स्कुल टू ओलम्पिकलगायतका कार्यक्रम गर्दै आएको छ । संघले गत वर्ष असारमा ओलम्पियन्स पुनर्मिलन तथा सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको थियो ।
HamroAwaj
2023-05-25 18:21:51