१० वर्षपछि विन्दबासिनीमा फर्केको आत्मविश्वास – HamroAwaj


११ जेठ, काठमाडौं । १० वर्ष अगाडि हरेक बिहान कलेज जानु अगाडि बिन्दवासिनी कंसाकार आफूलाई ऐनामा हेर्थिन् । कपाल, कपडा चिटिक्क मिलेको पक्का गरेपछि उनी कलेजतिर सोझिन्थिन् । तर, ९ वैशाख २०७० को एक घटनाले उनको जीवनबाट ऐना खोस्यो ।

१९ वर्षकी थिइन् कंसाकार । मकवानपुरको हेटौंडा बजारमै छ उनको घर । माथिल्लो तलामा कंसाकार परिवार बस्छ, तल्लो तलामा भाँडापसल छ । प्लस टु पढ्दै गरेकी कंसाकार कलेज सकेर घर फर्केपछि पसलमा सघाउँथिन् ।

१० वर्ष अगाडि ९ वैशाख २०७० मा पनि उनी सदा झैं कलेजबाट फर्केर पसलमा बसेकी थिइन् । पसलमा चिनजानका दिलीपराज केशरी (राज) आइपुगे । केशरीको हातमा सानो बट्टा थियो । ‘हजुरआमालाई दिनू’ भनेर उसले त्यो बट्टा मतिर सोझ्यायो’ कंसाकारले भुलेकी छैनन्, ‘त्यसपछि उसले बट्टा खोलेर मेरो मुखमा छ्याप्यो ।’

त्यो बट्टामा एसिड थियो । हात–मुख सबैतिर असह्य हुने गरी पोल्यो । चिच्याउँदै घरभित्र छिरिन् कंसाकार । उनको क्रन्दन सुनेर परिवारका सबै दौडिंदै आए ।

नेपाल प्रहरीको रेकर्ड अनुसार नेपालमा एसिड आक्रमण भएको यो दोस्रो घटना थियो । त्यस अगाडि २०६३ मा सुनसरीमा सदिना खातुनमाथि एसिड छ्यापिएको थियो ।

एसिडले जलेकी कंसाकारको जीउमा परिवारका सदस्यले पानी खन्याए । एसिडको जलन पानीले कहाँ बिसेक हुन्थ्यो र !

कंसाकारलाई लगेर आफन्तहरू हेटौंडा सामुदायिक अस्पतालतिर दौडिए । हेटौंडा अस्पतालले प्राथमिक उपचार मात्र गर्न सक्यो । आँखामा समेत एसिड परेको भन्दै आँखा अस्पताल जान रिफर गर्‍यो ।

हेटौंडामा उपचार सम्भव नभएपछि कंसाकारलाई काठमाडौं ल्याइयो । काठमाडौंको नेपाल मेडिकल कलेजमा तीन महिनासम्म उनको उपचार चल्यो । त्यसो त अहिले पनि उनको उपचार सकिएको छैन । हरेक ६–६ महिनामा उनी उपचारका लागि भारत जान्छिन् ।

एसिड आक्रमणमा परेपछि उनको पढाइ छुट्यो । साथीसंगाती छुटे । नियमित चलिरहेको जीवनको लय बिथोलियो । कलेज, पसल र साथीभाइको संसारमा रमाउने कंसाकार महिनौं अस्पतालको कोठामा बन्द भइन् । अस्पतालबाट निस्किएपछि उनी आफ्नै घरको कोठामा सीमित भइन् ।

 

उनको आँखा, घाँटी र अनुहार एसिडले पोलेको थियो । सास फेर्न सजिलो हुने गरी सानो ठाउँ खाली छाडेर उनको अनुहारभरि पट्टी बेरिएको हुन्थ्यो । कंसाकारलाई भने आफ्नो अनुहार हेर्न मन थियो ।

‘बुवाले अस्पतालको कोठा र बाथरुमबाट ऐना हटाउन लगाउनुभएको थियो’ कंसाकार भन्छिन्, ‘मेरी छोरीले निको भएपछि मात्र ऐना हेर्छे भन्नुहुन्थ्यो उहाँ ।’ तर, कंसाकार भने मोबाइलको स्क्रिनमा आफ्नो अनुहार हेर्न खोज्थिन् । एसिडले जलेका आँखाले मोबाइल स्क्रिनमा हेर्दा उनी पट्टी बेरिएको धमिलो आकृति मात्र देख्थिन् ।

तीन महिनाको अस्पताल बसाइपछि घर फर्किइन् कंसाकार । नियमित उपचारका लागि अस्पताल आउ–जाउ गरिरहनुपर्ने भएपछि उनी कालीमाटीमा ठूलोबुबासँगै बस्न थालिन् । अस्पतालको बसाइ सकिए पनि अनुहारमा भने नियमित ब्याण्डेज गर्नुपथ्र्यो । कंसाकारका बुबा वा भाइले ब्याण्डेज गरिदिन्थे । एकदिन कंसाकार आफैंले आफ्नो अनुहारमा ब्याण्डेज गरिन् । ‘एकदिन बुबा नभएको बेला म आफैंले ब्याण्डेज गर्नसकें’ कंसाकार सम्झेरै पनि हर्षित हुन्छिन्, ‘यो मेरो जीवनकै खुसीको दिन थियो ।’ उनले बुवालाई फोन गरेर आफूले आफ्नो ब्याण्डेज आफैं गरेको सुनाइन् ।

यतिखेरै आफ्नो अनुहार ऐनामा हेरिन् । नियमित देखिरहेको आफ्नो अनुहार देखिनन् ऐनामा । आफ्नै अनुहार अपरिचित लाग्यो उनलाई । तर, जे जस्तो भए पनि स्वीकार्नुको विकल्प थिएन ।

आफैं ब्याण्डेज गर्न सक्ने भएपछि उनी हेटौंडा फर्किइन् । हेटौंडा पुगेर पनि उनी दुई महिनासम्म घर बाहिर निस्किइनन् । एकोहोरो घरमा बसिरहँदा मन भुलाउने बाटो भयो युट्युब । ‘कहिले सन्दीप महेश्वरीको मोटिभेसनल भिडियो त कहिले कपिल शर्माको कमेडी हेर्न थालें’ कंसाकार सुनाउँछिन्, ‘यी हेर्दा–हेर्दा पनि वाक्क लाग्यो ।’

अनि उनले ह्यान्डिक्राफ्ट बनाउन सुरु गरिन् । ‘बुबाले पुराना पत्रिका र चार्ट पेपर ल्याइदिनुभयो । केही दिन ह्यान्डिक्राफ्ट बनाएँ’ उनले भनिन्, ‘मैले बनाएका क्राफ्ट पसलमा लगेर बेच्छु भन्नुहुन्थ्यो बुबा ।’ तर, उनलाई थाहा थियो ती ह्यान्डिक्राफ्ट बिक्री हुँदैनन् । तर बुवाले हौसला प्रदान गर्न त्यसो भनेको अनुमान उनी लगाउँछिन् ।

त्यो उकुसमुकुस र छटपटीबाट मुक्ति खोज्न उनले बनाएका ह्यान्डिक्राफ्ट अझै पनि घरमा छन् । ‘सबै चिजबाट दिक्क लागेपछि म दिउँसो–राति चौबीसै घण्टा निदाउन थालें’, कंसाकार सुनाउँछिन् ।

एक्लिएकी कंसाकारलाई उनका दिदीहरूले घर बाहिर निकाले । दिदीहरूसँग साँझपख उनी बाहिर निस्कन थालिन् । ‘जलनका कारण दिउँसो घाममा निस्कन मिल्दैनथ्यो । अनुहार छोपेर, चस्मा लगाएर निस्कन थालें’ धेरैपछि उनलाई बन्धनबाट मुक्त भएजस्तो लाग्यो । गुमेको आत्मविश्वास फर्कियो ।

त्यसपछि उनी फेरि कलेज जान सुरु गरिन् । ‘कलेज जान थालेपछि साथीहरूसँग घुलमिल हुन थालें’ कंसाकारलाई सजिलो भयो, ‘उनीहरूसँग समय बिताउन थालेपछि मन हलुका भयो ।’

तर, उनी नियमित कलेज जान पाइनन् । ‘हरेक तीन महिनामा उपचारका लागि भारत जानुपर्ने भएपछि पढाइ छुट्न थाल्यो’, उनी सुनाउँछिन् । कंसाकार स्नातक तहमा पढ्दैछिन् ।

अहिले पनि उनी उपचारका लागि दक्षिण भारतको तमिलनाडु राज्यको मधुराई जान्छिन् । उनका अनुसार सुरुमा हरेक तीन महिनामा उपचारका लागि जानुपर्ने भए पनि अहिले भने ६ महिनाको अन्तरालमा जानुपर्छ ।

‘एसिड जलनको जीवनभर उपचार गरिरहनुपर्छ । जिन्दगीभर औषधि खानुपर्छ । छालाको खुबै ख्याल राख्नुपर्छ । पोलेको ठाउँमा सधैं मल्हम लगाइरहनुपर्छ । चर्को घाममा बाहिर निस्कनुहुँदैन’ कंसाकार सुनाउँछिन् ।

६ वर्षपछि अपराधी पक्राउ पर्दा

कंसाकारमाथि एसिड छ्यापिएकै दिन कंसाकारका बुबाले प्रहरीमा उजुरी दिएका थिए । तर, आक्रमणकारी फरार भएको भन्दै प्रहरीले पक्राउ गर्न सकेन । ‘परिवारका अरू मान्छे पनि मेरो उपचारमै व्यस्त भए । त्यो कानुनी कुरातिर हाम्रो ध्यान नै गएन’, उनी सुनाउँछिन् ।

कंसाकारमाथि एसिड आक्रमण भएको करिब दुई वर्षपछि काठमाडौंको वसन्तपुरमा संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण भयो । यो घटनापछि एसिड आक्रमण विरुद्ध आवाज बलियो भयो ।

एसिड आक्रमण विरुद्ध आन्दोलनका लागि भनेर कंसाकार हेटौंडाबाट काठमाडौं आइन् । ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेझैं एसिडको चोट भोग्नेलाई मात्र थाहा हुन्छ’ कंसाकार भन्छिन्, ‘त्यही भएर म आन्दोलनका लागि काठमाडौंमा आएँ ।’

संगीता र सीमामाथि भएको एसिड आक्रमणको घटना अनुसन्धान गरेकी थिइन् हाल प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले । उनै चौधरी मकवानपुर प्रहरी प्रमुख भएर हेटौंडा पुगिन् ।

कंसाकारलाई एसिड छ्याप्ने दिलीपराज फरार भएको भन्दै प्रहरीले थान्को लगाइसकेको उजुरी करिब तीन वर्षपछि पल्टाइन् चौधरीले । ‘हेटौंडा आएपछि उहाँ (मीरा चौधरी)ले मलाई बोलाउनुभयो । उहाँले केस खोल्नुभयो’ कंसाकार भन्छिन्, ‘करिब तीन वर्षपछि प्रहरीले चासो देखाउँदा हाम्रो परिवारले पनि अनुसन्धानमा प्रहरीलाई सघाउन थाल्यो ।’

चौधरी नेतृत्वको अनुसन्धान टोलीले एसिड आक्रमणकारी दिलीपराजको भारतीय रासन कार्ड फेला पार्‍यो । रासन कार्डमा भएको फोटो देखाउँदै चौधरीले कंसाकारलाई सोधिन्– ‘यही मान्छे हो ?’

‘हो’, कंसाकारले छोटो जवाफ दिइन् । अनि चौधरीले जसरी पनि दिलीपराजलाई पक्राउ गर्ने आश्वासन दिइन् ।

संयोग कस्तो भने बिन्दवासिनी कंसाकारको एकजना साथीले दिलीपराजलाई भारत दिल्लीको गुडगाउँमा देखे । ‘मेरो साथीले उसलाई दिल्लीको गुडगाउँमा अटो रिक्सामा देख्यो’ उनी सुनाउँछिन्, ‘साथीले लुकेर फोटो खिचेर मलाई पठायो ।’

उनले त्यो फोटो प्रहरीलाई दिइन् । तर, दिलीपराज भारतमा भएको भन्दै प्रहरीले पक्राउ गर्न सकेन ।

२० भदौ २०७६ मा वीरगञ्जमा मुस्कान खातुनमाथि एसिड आक्रमण भयो । यो घटनाले एसिड आक्रमण विरुद्धको आन्दोलन फेरि चर्कायो । यस अगाडिझैं कंसाकार फेरि आन्दोलनमा सहभागी भइन् ।

प्रहरीको रेकर्ड अनुसार कंसाकारपछि पनि १७ जनामाथि एसिड प्रहार भयो । तारन्तार एसिड प्रहारका घटना सार्वजनिक हुन थालेपछि उनी एसिड आक्रमणको विरुद्ध छुट्टै कानुन बनाउनुपर्ने आवाज उठाउन थालिन् ।

१४ कात्तिक २०७६ मा प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट कंसाकारमाथि एसिड छ्याप्ने दिलीपराज केशरीलाई पक्राउ गर्‍यो । त्यसको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरेर दिलीपराजलाई सार्वजनिक गर्‍यो । पीडित र पीडक दुवैलाई राखेर गरिने विरलै पत्रकार सम्मेलन गर्‍यो मकवानपुर प्रहरीले । त्यतिखेर कंसाकारले भनेकी थिइन्, ‘यो मान्छेलाई कि जन्मकैद गर्नु, कि फाँसीको सजाय दिनु ।’

यति भनेर कंसाकार दिलीपमाथि झम्टिन पुगिन् । ‘त्यो मान्छेले मलाई त्यहाँ (पत्रकार सम्मेलनमा) कर्के आँखाले हेरिरा’थ्यो, त्यसको त्यो हेराइ देखेपछि रिस उठ्यो अनि झम्टें’ कंसाकार सम्झिन्छिन्, ‘नभए त मलाई त्यो मान्छेलाई हेर्न र छुन पनि मन थिएन ।’

दिलीपराज आफ्ना दिदी–भिनाजुसँग बस्थे । दिलीपका दिदी–भिनाजुको हेटौंडाको स्कुल रोडमा किराना पसल थियो, दिलीप त्यही पसलमा बस्थे । कंसाकारका दाइहरूसँग संगत गर्ने दिलीपले त्यही क्रममा बिन्दवासिनीसँग चिनजान भएको थियो । कंसाकारलाई एकतर्फी प्रेम गर्ने दिलीपले बारम्बार प्रेम प्रस्ताव पनि राखेका थिए । तर, कंसाकारले दिलीपको प्रस्ताव नकारिन् । त्यही बदला लिन आफूले एसिड छ्यापेको उनले अदालती बयानमा भनेका छन् ।

६ वर्षपछि अपराधी पक्राउ पर्दा कंसाकारको जीवन भने फेरिइसकेको थियो । उनका बुवाले व्यापारका लागि भनेर लिएको ऋण उपचारमा सकिइसकेको थियो ।

यतिन्जेलसम्म कंसाकार परिवारले ८० लाख भारतीय रुपैयाँ उपचारमा खर्च गरिसकेको थियो । ‘मेरो उपचार र रेखदेखका लागि भनेर सारा परिवारको अवस्था भताभुंग भयो’, कंसाकार भन्छिन् ।

प्रहरीले ज्यान मार्ने कसुर अन्तर्गत मुद्दा चलाएर दिलीपराजलाई अदालत पुर्‍यायो । त्यतिबेला एसिड आक्रमण सम्बन्धी छुट्टै कानुन नहुँदा दिलीपराजलाई १ लाख रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय तोक्यो मकवानपुर जिल्ला अदालतले ।

कंसाकार परिवारले क्षतिपूर्ति समेत माग गरेका थिए । यसका लागि उनीहरूले अदालतमा उपचार गर्दा लागेको १ करोड १४ लाख ८५ हजार रुपैयाँको बिल भरपाई पेश गरेका थिए ।

मकवानपुर जिल्ला अदालतले यो रकम सके अपराधीबाट भराउनू, उसले तिर्न नसके नेपाल सरकारले उपलब्ध गराउनू भनेर आदेश दियो । मकवानपुर जिल्ला अदालतका न्यायाधीश कमलराज विष्टले फैसलामा लेखेका थिए– ‘निज प्रतिवादी विदेशी नागरिक हुँदा एवम् निजको बयान एवम् प्रमाणबाट निजले सहजै त्यतिका रकम क्षतिपूर्ति तिर्न सक्ने अवस्था नदेखिंदा, निज प्रतिवादीबाट उक्त रकम भराउन नसकिएमा निज पीडितलाई परेको पीडा र उपचारमा भएको खर्चका सम्बन्धमा मनासिब माफिकको क्षतिपूर्ति रकम नेपाल सरकारबाट स्थापना भएको अपराध पीडित क्षतिपूर्ति राहत कोषबाट भराइदिनू ।’

तर यो आदेश भएको चार वर्ष भइसक्दा पनि कंसाकारले क्षतिपूर्ति पाएकी छैनन् । ‘अहिलेसम्म त्यो क्षतिपूर्ति पाइएको छैन’ कंसाकार सुनाउँछिन्, ‘त्यसपछि पनि उपचारमा कति खर्च भयो–भयो !’

प्रहरीको रेकर्ड अनुसार कंसाकारपछि पनि १७ जनामाथि एसिड प्रहार भयो । तारन्तार एसिड प्रहारका घटना सार्वजनिक हुन थालेपछि उनी एसिड आक्रमणको विरुद्ध छुट्टै कानुन बनाउनुपर्ने आवाज उठाउन थालिन् ।

२५ भदौ २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूलाई भेटे । त्यो भेटमा कंसाकारले आफ्नो परिचय सहित प्रधानमन्त्री ओलीलाई एसिड आक्रमण विरुद्ध कठोर कानुन बनाउन आग्रह गरिन् । ‘उहाँले हामी सबैको कुरा ध्यानपूर्वक सुन्नुभयो’, कंसाकार सम्झिन्छिन् ।

एसिड पीडितसँग सामूहिक भेटपछि तत्कालीन प्रधानमन्त्री ओलीले एसिड आक्रमण विरुद्ध कानुन बनाउन निर्देशन मात्र दिएनन् १० सेप्टेम्बरलाई एसिड आक्रमण विरुद्धको दिवस मनाउने समेत घोषणा गरे । पीडितहरूलाई आजीवन निःशुल्क उपचार गराउने र रोजगारी दिने समेत वाचा गरे ।

प्रधानमन्त्री ओलीको वाचा र एसिड आक्रमण विरुद्ध सक्रियतासाथ लागिरहेका उज्ज्वल विक्रम थापाको सक्रियतामा कंसाकारसहित जेनी खड्का र संगीता मगरले कुमारी बैंकमा रोजगारी पाए । कंसाकारले हेटौंडाको शाखामा काम गर्न सुरु गरिन् भने अरू दुई जनाले काठमाडौंमा ।

यही बीचमा सरकारले एसिड आक्रमण विरुद्ध अध्यादेश ल्यायो । तर, राजनीतिक खिचातानी चलिरहेको समयमा संसदमा यो अध्यादेश पेश नै हुन पाएन । २ चैत २०७८ मा सरकारले फेरि अध्यादेश ल्यायो । त्यसपछि संसदमा पेश भयो ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियम ऐन– २०७९ ।’

अनि होमिइन् राजनीतिमा

उपचार, कलेजसँगै जागिरे जीवन व्यतीत गरिरहेकी कंसाकार २०७९ को आम चुनावदेखि राजनीतिमा आइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिमा आउने भएपछि उनले बैंकको जागिर माया मारिन् । ‘एसिड मात्र होइन, जलनका बारेमा नै अब सचेतना अभियान फैलाउनुपर्छ भनेर राजनीतिको बाटो रोजें’, कंसाकार भन्छिन् ।

राजनीतिमा आएपछि उनलाई अचेल भ्याईनभ्याई छ । राजनीतिक भेटघाटका शृंखलामा दौडधुप गरिरहेकी कंसाकारलाई रास्वपाले समानुपातिक सांसदको सूचीमा राखेपछि उनको व्यस्तता बढ्यो ।

२ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । तर, रास्वपाको यो निर्णयविरुद्ध ढाकाकुमार सर्वोच्च अदालत पुगेका छन् । अदालतमा यो मुद्दा विचाराधीन छ । सर्वोच्च अदालतबाट रास्वपाको निर्णय पास/फेल जे भए पनि कंसाकार भने राजनीतिबाट अब बाहिरिने मूडमा छैनन् ।

राजनीति मार्फत नै एसिड र जलनका विषयमा सचेतना फैलाउन कस्सिएकी कंसाकार विस्तारै नियमित जीवनमा फर्किंदैछिन् । राजनीतिक भेटघाटका लागि घरबाट निस्कनु अगाडि उनी विगतमा जस्तै आफूलाई ऐना हेर्छिन् । कहिलेकाहीं मोबाइलको फ्रन्ट क्यामेरा खोलेर जलन कम गर्न लगाएको क्रिम मिलाउँछिन्, घाममा बस्दा लगाएको चस्मा मिलाउँछिन् र भन्छिन्, ‘१० वर्षको संघर्षपछि यो आत्मविश्वास आएको हो ।’

तस्विर : आर्यन धिमाल/अनलाइनखबर





Source link

HamroAwaj

2023-05-25 21:05:05

Leave a Comment