
पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोंच्च अदालतले आदेश दिएको छ । खड्का पक्षबाट दायर गरीएको बन्दीप्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले आदेश दिएको हो ।
बुधबार उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल र अधिवक्ताहरू प्रकाश रेग्मीले बहस गरेका थिए । साथै नायवमहान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले समेत बहस गरेका हुन् सर्वोच्चले मुद्दाको पेसी वैशाख ३ गत बिहिबारका लागि तोकेको छ ।
खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको बताईएको थियो ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरी अनुसन्धान गरिरहेको छ ।























