
पोखरा महानगरपालिका वडा कार्यालय वडा नम्वर १४ को आयोजनामा शान्ति र सद्भावका लागि एक कदम दौड भन्ने नारासहित प्रथम वडाध्यक्ष वडास्तरीय दौड प्रतियोगितामा सम्पन्न भएको छ । उक्त दौडको पुरुष १० किलोमिटर खुलातर्फ सागर थापा च्याम्पियन बनेका छन् ।
बुद्ध जयन्तीको अवसरमा आयोजित दौड प्रतियोगितामा खुलातर्फका अन्य धावकलाई पछि पार्दै थापाले उपाधि जितेका हुन्। त्यसैगरी नवराज केसी द्वितीय, धन बहादुर केसी तृतीय र रामचन्द्र रानाभाटले सान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमशः १४ हजार १४ रुपैयाँ, १० हजार १४ रुपैयाँ, ५ हजार १४ रुपैयाँ र ३ हजार १४ रुपैयाँसहित मेडल प्राप्त गरे । यस्तै ५ किमी छात्र विद्यार्थीतर्फ केशर रोका मगर प्रथम भए । सो विधामा सोलेमन गुरुङ द्वितीय, निर्मल गुरुङ तृतीय र पुजन आले सान्त्वना भए ।
यसैगरी ५ किमी छात्रातर्फ कुसुम विकले प्रथम स्थान हासिल गरिन् भने, विपसा कुमाल द्वितीय, पार्वती सुनार तृतीय र सोनिया विक सान्त्वना भइन् । छात्र तथा छात्रा विद्यार्थी विधाका विजेताहरूलाई क्रमशः ८ हजार १४ रुपैयाँ, ५ हजार १४ रुपैयाँ, ३ हजार १४ रुपैयाँ र २ हजार १४ रुपैयाँ पुरस्कार प्रदान गरिएको वडाध्यक्ष बोधबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार ३ किमी पुरुष प्रौढ (४५ वर्षमाथि) दौडमा प्रकाश छन्त्याल प्रथम भए । यस्तै गंगाबहादुर थापा द्वितीय, नरेश कार्की तृतीय र चन्द्र बहादुर गुरुङले सान्त्वना स्थान हाँसिल गरे ।
महिला प्रौढतर्फ कृष्णकुमारी मानन्धरले स्वर्ण जित्दा मनु राना द्वितीय, फुलु आले तृतीय र दिपा चिमाल सान्त्वना भइन् । पुरुष तथा महिला प्रौढ विधातर्फका विजेताले ७ हजार १४ रुपैयाँ, ५ हजार १४ रुपैयाँ, ३ हजार १४ रुपैयाँ र २ हजार १४ रुपैयाँ पुरस्कार प्राप्त गरे । स्थानीयस्तरमा खेलकुदको विकास र सद्भाव कायम गर्ने उद्देश्यले आयोजित सो प्रतियोगिताका विजेता धावकहरुलाई वडाध्यक्ष, बोधबहादुर कार्की, कार्यक्रम संयोजक शिव शंकर जिसी लगायतले पुरस्कार वितरण गरेका थिए ।


























