पोखरा, १७ असार। इजरायलसँग भएको १२ दिन लामो युद्धको क्रममा इरानमा कम्तीमा ९३५ जनाको ज्यान गएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार सार्वजनिक गरेको छ। युद्धविराम लागू भएको करिब एक सातापछि सार्वजनिक भएको यो विवरण इरानको न्याय परिषद्का प्रवक्ता असगर जहाङ्गीरको भनाइ उद्धृत गर्दै सरकारी समाचार संस्था इरनाले जनाएको हो।

१३२ महिला र ३८ बालबालकसहित ९३५ जना इरानी नागरिक युद्धमा मारिएको पुष्टि गरिएको छ। इरानी विवरणअनुसार इजरायलले गत जुन १३ गतेबाट इरानका सैनिक शिविर, आणविक अनुसन्धान केन्द्र तथा आवासीय क्षेत्रहरूलाई लक्षित गर्दै बम आक्रमण सुरु गरेको थियो। ती आक्रमणहरूमा उच्चपदस्थ सैनिक अधिकारी तथा वैज्ञानिकको पनि ज्यान गएको जनाइएको छ।

आक्रमणको प्रतिकारस्वरूप इरानले पनि इजरायलका विभिन्न प्रमुख शहरहरूमा मिसाइल र मानवरहित विमानमार्फत आक्रमण गरेको थियो। इजरायली अधिकारीहरूका अनुसार इरानको जवाफी कारबाहीमा २८ जना इजरायली नागरिकको मृत्यु भएको छ।

दुई देशबीच तनाव चुलिएर युद्धमा रुपान्तरण भएको यो घटनामा व्यापक जनधनको क्षति भएको देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरिरहेका बेला इजरायल र इरानबीच गत जुन २४ मा युद्धविरामको घोषणा गरिएको थियो।

युद्धविरामपछि पहिलोपटक इरानले सार्वजनिक गरेको यो तथ्यांकले युद्धको भयावहता स्पष्ट पारेको छ। मृतकमध्ये महिलातर्फको संख्याले घरेलु क्षेत्र र नागरिक संरचनामाथि लक्षित आक्रमण भएको आशंका झन् बलियो बनाएको छ। साथै, बालबालकको मृत्युले युद्धले सर्वसाधारणमा पारेको असरलाई उजागर गरेको छ।

हाल युद्धविराम कायम रहे पनि दुई पक्षबीचको द्वन्द्व गहिरो रहँदै आएको र स्थायी समाधानको खोजीमा कूटनीतिक पहल आवश्यक रहेको विश्लेषणकर्ताहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0