पोखरा, १७ असार। रौनक श्रीवास्तवको विस्फोटक शतकको मद्दतले नेपालले एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा भुटानलाई २९८ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। मलेसियामा मंगलबार सम्पन्न प्रतियोगिताको समुह ‘ए’ अन्तर्गतको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३५८ रनको विशाल योगफल तयार गर्‍यो। नेपालका ओपनर रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रनको शानदार इनिङ्स खेले। उनले शिवान्श बजगाईं, सुगम बुढाथोकी र जोय थापासँग क्रमशः ९१, ७२ र १७० रनको महत्वपूर्ण साझेदारी गरे। शिवान्शले ५४, सुगमले ३५ र जोय थापाले अविजित ६१ रन बनाए।

भुटानका लागि सञ्जय दोर्जेले तीन विकेट लिए भने बाँकी बलरहरूले खास प्रभाव जमाउन सकेनन्।

भुटानलाई ३५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली बलिङ अट्याकसामु उनीहरूको ब्याटिङ ढलेको दृश्य देखियो। भुटानको टोली ३२.४ ओभरमा जम्मा ६० रनमै अलआउट भयो। भुटानका अन्तिम ब्याट्सम्यान मैदानमा नआएकाले नेपालले प्राविधिक रूपमा जित हात पाएको हो। भुटानका सुजन दावाले सर्वाधिक १४ रन बनाए भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रनमात्र खर्चिएर ४ विकेट झारे। सचिन भट्ट र सुयोग भट्टराईले समान २/२ विकेट लिएर भुटानको पारी सखाप पार्न मद्दत गरे।

यो जितसँगै नेपाल समूह ‘ए’ मा चारै खेल जित्दै शीर्ष स्थानमा रह्यो र सेमिफाइनलमा प्रवेश पक्का गर्‍यो। भुटान भने समूह चरणका चारै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0