पोखरा, १७ असार। टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। आइतबार काठमाडौंस्थित विशेष अदालतमा थुनछेक बहसपछि अदालतको इजलासले बस्नेतसँग धरौटी माग गर्दै रिहा गर्न आदेश जारी गरेको हो।

बस्नेतसँगै टेरामक्स खरिद प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, धनराज ज्ञवाली, टिकाप्रसाद उप्रेती, सुरेन्द्रलाल हाडा, दिपेश आचार्यलगायत १६ जना र दुई कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबीसहित गत जेठ १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले आदेश जारी गरेको हो। बस्नेत आइतबार अदालतमा हाजिर भई बयान दिएर थुनछेक बहसमा सहभागी भएका थिए।

उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, कानूनी आधारबिना मन्त्रीकै निर्देशनमा कार्यक्रम थपिएको र सोही प्रक्रियाबाट भ्रष्टाचारको सुरुवात भएको आरोप अख्तियारले लगाएको छ।

मुद्दा दायर भएसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ। अदालतको निर्णयसँगै उनी धरौटीमा छुटेपनि प्रकरण भने अझै निष्कर्षमा पुगेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0