
पोखरा, १७ असार। कास्की जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला’ घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा सोमबार आयोजित विशेष समारोहमा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले औपचारिक रूपमा सो घोषणा गरेका हुन्।
घोषणा समारोहमा मन्त्री पाठकले प्रदेश सरकारले नागरिकलाई रोगबाट सुरक्षित राख्नका लागि जनचेतनाको अभिवृद्धिमा जोड दिइरहेको बताए। सर्ने तथा नसर्ने रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्ध राष्ट्र निर्माणको बाटो सहज हुने उल्लेख गर्दै उनले प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको जानकारी दिए।
उनले प्रदेशमा विशिष्टीकृत अस्पताल सञ्चालन गर्ने तयारीसँगै प्रदेशमै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने कामलाई पनि प्राथमिकता दिइएको उल्लेख गरे। मानसिक रोगको अवस्थालाई गम्भीर चुनौतीका रूपमा लिँदै मन्त्री पाठकले सोका लागि छुट्टै विशेष अस्पताल आवश्यक भएको र त्यसतर्फ सरकार गम्भीर रहेको बताए।
कार्यक्रममा जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्लाका रूपमा स्थापित गर्न महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अविस्मरणीय रहेको बताए। सरकारी संयन्त्र, स्वयंसेविका र स्थानीय जनसहभागिताबाट नै सम्भव भएको यो सफलताको माध्यमबाट अब आरोग्य र समुन्नत कास्कीको निर्माणतर्फ अघि बढ्न सहज हुने धारणा व्यक्त गरे।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा ६० वर्ष उमेर नाघेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित विदाइ समेत गरिएको थियो।
कार्यक्रम जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए भने सञ्चालन प्रादेशिक जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले गरेका थिए।

























