
जनसेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तीर्थ शर्मा ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा साहित्यकार तथा पूर्व कृषि मन्त्री तिर्लोचन ढकाल प्रमुख अतिथि तथा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विष्णु ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा संस्थाको स्थापना, हालसम्मको प्रगति तथा आगामी कार्ययोजनाका विषयमा जानकारी गराइएको थियो। २५ जना शेयर सदस्यबाट सुरु भएको जनसेवी बचत तथा ऋण सहकारीले छोटो समयमै आफ्नो सेवा र गतिविधिलाई विस्तार गर्दै लगेको र हाल ५०३ सेयर सेयर सदश्य , सेयर पुजि २ करोड ३८ लाख १९ हजार २ सय रहेको छ ।
पोखराबाट सञ्चालन हुँदै आएको जनसेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा महानगरपालिका तथा अन्नपूर्ण गाउँपालिकामा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाले शेयर सदस्यहरूबीच बचत गर्ने बानीको विकाससँगै आवश्यकताअनुसार ऋण तथा वित्तीय सेवा उपलब्ध गराउँदै आर्थिक गतिविधिमा सहजीकरण गर्दै आएको जनाएको छ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, शेयर सदस्यको सहभागिता, बचत तथा ऋण कारोबार र आगामी दिनमा संस्थालाई थप प्रभावकारी तथा सदस्यकेन्द्रित बनाउने विषयमा छलफल गरिएको थियो। साथै सहकारीको माध्यमबाट स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउन तथा शेयर सदस्यको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने विषयमा जोड दिइएको थियो।
सभामा प्रमुख अतिथि तिर्लोचन ढकालले सहकारी संस्थाहरूले आफ्ना सदस्यको आर्थिक हितलाई केन्द्रमा राखेर पारदर्शी, उत्तरदायी र विश्वासिलो ढंगले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। उनले सदस्यको सहभागिता र विश्वास नै सहकारीको दीर्घकालीन सफलताको आधार भएको बताए।
विशेष अतिथि विष्णु ढकालले सहकारी तथा वित्तीय संस्थाबीचको सहकार्य, वित्तीय अनुशासन र सदस्यको आवश्यकता अनुरूप सेवा विस्तारमा जोड दिनुपर्ने धारणा राखे।
संस्थाका अध्यक्ष तीर्थ शर्मा ढकालले संस्थालाई सदस्यको आर्थिक आवश्यकता पूरा गर्ने विश्वासिलो माध्यमका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा संस्थाको सेवा विस्तारसँगै शेयर सदस्यलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने बताए।
साधारण सभाले संस्थाको आगामी कार्यदिशा तय गर्दै सदस्यको हित, संस्थागत सुशासन, आर्थिक पारदर्शिता र सेवा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

























