
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताउनुभएको छ । संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो । उहाँले दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताउनु भयो । उहाँले सभापति थापासँग आफूले यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताउनु भयो ।
कोईरालाले काँग्रेसभित्र पछिल्लो समय बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले विगतमा पार्टीभित्र विवाद भएपनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गर्नुभयो । पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उहाँले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताउनु भयो । वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उहाँको भनाई छ । उहाँले पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताउनु भयो । विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उहाँको भनाई छ । उहाँले दुबै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू कुनै पक्ष नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी पनि गर्नुभयो । काँग्रेसभित्र सहमति हुने दाबी गर्दै उहाँले कहिले र कसरी मिल्ने भन्ने चाँही अहिले नै भन्न नसकिने बताउनु भयो उहाँले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके काँग्रेसको शक्ति थप बलियो हुने विश्वास समेत व्यक्त गर्नुभयो ।





























