पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ । यो समाचार तयार पार्दासम्म उक्त मापन केन्द्र आसपास क्षेत्रमा पनि २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यसैगरी परासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । चितवनको मेघौली मापन केन्द्रमा २०२.८ मिलिमिटर वर्षा भएको छ भने तनहुँको अत्रौउलीटार मापन केन्द्रमा २०२.२ मिलिमिटर वर्षा भएको छ । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । यस्तै, १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भनिन्छ । साथै मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको विभागले जनाएको छ ।

कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ । लेदो सहितको पहिरो नाम्सी खोला पुलमाथि खस्दा आइतबार बिहान ७ः५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ । पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ । नारायणी नदीको देवघाटमा बाढी बढिरहेको छ । हाल त्यहाँको जल सतहले खतरा तह पार गरिसकेको छ । महाशाखाका अनुसार नारायणी नदीमा समाचार तयार पार्दासम्म पानीको बहाव १०.८ मिटर पुगेको छ । जबकि यहाँको खतराको तह ९ मिटर र चेतावनीको तह ७.४ मिटर हो । नदीको बहावले खतराको तह पार गरेकोले त्यस क्षेत्रमा डुबानको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदीको बहाव अझै बढिरहेकोले साँझैसम्म सतर्कता अपनाउने सरोकारवालाले आग्रहर गरेका छन् ।

यस्तै, पर्वतस्थित कालीगण्डकी, लमजुङस्थित चेपेखोला, म्याग्दीको मंगलघाट, चितवनकै रिउखोलामा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । खतराको तह पार गरेका सबै नदी नारायणी बेसिनका स्टेशन रहेका क्षेत्रका हुन् । यता धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका–१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध रहेको छ । बेनीघाट रोराङ गाउँपालिका–७ का अध्यक्ष कुमार बस्नेतका अनुसार अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको छ ।

भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्‍याएको छ । गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको हो । बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्‍याएको छ । बाढीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका बुटवल–११ का वडा सदस्य युवराज रानाले बताए। स्थानीय प्रशासनले यस अघि नै नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो। गए राति सम्म वर्षा भएकोमा आज बिहानदेखि बुटवलमा वर्षा रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0