
नयाँ संरचना र डिजिटल प्रणालीसहित इक्यान कास्कीको नयाँ कार्यालय उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)कास्कीको औपचारिक उद्घाटन गरिएको छ। पोखराको सिद्धार्थ चोकमा रहेको इक्यान कास्कीको नयाँ कार्यालय असोज १६ गते शुक्रबार (अक्टोबर २, २०२६) आयोजित विशेष समारोहबीच इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले नयाँ उद्घाटन गरेका हुन्। शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित भ्ऋब्ल् कास्कीले सिद्धार्थ चोक–४, पोखरामा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो। नयाँ कार्यालयसँगै संस्थाको सेवा प्रवाह र आन्तरिक व्यवस्थापनलाई क्रमशः पूर्ण डिजिटल प्रणालीमा लैजाने तयारीसमेत गरिएको इक्यान कास्कीले जनाएको छ। उद्घाटन समारोहमा इक्यानका केन्द्रीय पदाधिकारी, सल्लाहकार, संस्थाका पूर्व तथा वर्तमान नेतृत्व, सदस्य तथा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा इक्यान केन्द्रीय सल्लाहकार तथा इक्यान कास्कीका संस्थापक अध्यक्ष महेश भण्डारी र केन्द्रीय महासचिव भावनाथ हुमागाईं लगायतको विशेष उपस्थिति रहेको थियो। समारोहमा बोल्दै इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरेले नयाँ कार्यालय केवल भौतिक संरचना परिवर्तनमा सीमित नभई संस्थालाई नयाँ ढंगले अगाडि बढाउने प्रयासको एउटा महत्वपूर्ण चरण भएको बताए। उनले इक्यान कास्कीको संस्थागत संरचना र सेवा प्रणालीलाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा संस्थालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने गरी नयाँ संरचना तयार गरिएको जानकारी दिए। अध्यक्ष गैरेले प्रविधिको प्रयोगबाट सदस्य संस्थासँगको समन्वय, सूचना आदानप्रदान, अभिलेख व्यवस्थापन तथा संस्थागत गतिविधिलाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे। बदलिँदो समयसँगै शैक्षिक परामर्श क्षेत्रले पनि प्रविधि, पारदर्शिता र व्यावसायिक मापदण्डलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ले नयाँ कार्यालय सञ्चालनमा आएकोमा इक्यान कास्की परिवारलाई शुभकामना व्यक्त गर्दै यसले संस्थाको गतिविधि तथा सदस्यलाई प्रदान गरिने सेवामा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।

संस्थागत विकाससँगै शैक्षिक परामर्श क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र जिम्मेवारीलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने विषयमा कार्यक्रममा चर्चा गरिएको थियो। सो अवसरमा सहभागी अतिथि तथा सदस्यले नयाँ कार्यालय सञ्चालनका लागि शुभकामना आदानप्रदान गरेका थिए। नयाँ कार्यालयबाट इक्यान कास्कीले आफ्ना सदस्यबीच समन्वय बढाउने, संस्थागत गतिविधिलाई व्यवस्थित गर्ने तथा शैक्षिक परामर्श क्षेत्रमा आवश्यक सूचना र सेवाको प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई सही सूचना, जिम्मेवार परामर्श र व्यवस्थित सेवा उपलब्ध गराउन शैक्षिक परामर्श संस्थाको भूमिका महत्वपूर्ण रहँदै आएको सन्दर्भमा इक्यान कास्कीले नयाँ कार्यालयसँगै डिजिटल र व्यवस्थित संस्थागत अभ्यासमा जोड दिएको हो।नयाँ कार्यालय, नयाँ संरचना र डिजिटल रूपान्तरणको योजनासहित इक्यान कास्कीले आफ्नो संस्थागत यात्रालाई थप व्यवस्थित ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

























