कास्कीको मादी गाउँपालिकाले शिक्षकहरूका लागि सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ ।

५ दिनसम्म सञ्चालन भएको तालिममा मादी गाउँपालिकाभित्रका आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकहरूको सहभागिता रहेको थियो । जेठ ५ देखि ९ गतेसम्म सञ्चालित तालिमको समापनका अवसरमा मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले आजका शिक्षक प्रविधिमैत्री हुनैपर्नेमा जोड दिए । आजका विद्यार्थी जन्मिँदैमा प्रविधिसँगै जन्मेकाले तिनलाई पढाउने शिक्षकहरू अझ तिखारिनुपर्ने गुरुङको भनाइ थियो । मादीका शिक्षकहरूको क्षमता विकासका लागि गाउँपालिकाले सधैँ प्रयास गर्ने प्रतिबद्धता जनाउँदै उनले सिक्ने कुरामा उमेर बाधक नबन्ने धारणा राखे ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र लामिछानेले आजका विद्यार्थीलाई प्रविधियुक्त सिकाइ अनिवार्य रहेको बताए । गाउँपालिकाभित्रका सबै विद्यालयमा आवश्यक प्रविधिको व्यवस्था गरेको जनाउँदै लामिछानेले शिक्षक अब प्रविधिमैत्री नबने विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने विचार राखे ।

वडा नम्बर ५ का वडाअध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहायक शिक्षा अधिकृत भगवान् पौडेल, सहभागीहरू सुनीता गुरुङ र हिमाल पौडेलले पनि आफ्ना भनाइ राखेका थिए ।

तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी, खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0