
दिवंगत पितृहरूको सम्झनामा गौसेवा गर्ने उद्देश्यले पोखरा महानगरपालिका–१५, मजुवास्थित पोखरा गौशाला (गौ आश्रम) मा शनिबार पितृ विसर्जन तथा खिर वितरण कार्यक्रम सम्पन्न भएको छ। हरि ॐ गुरु तथा श्री चक्रपाणी/सरस्वती दाहालको संयोजकत्वमा आयोजित कार्यक्रममा पितृहरूको सम्झनामा विधिपूर्वक पितृ विसर्जन गर्नुका साथै उपस्थित आगन्तुक महानुभावहरूलाई खिर खुवाइएको थियो। धार्मिक आस्था, पितृप्रतिको श्रद्धा र गौसेवाको भावनासहित सम्पन्न कार्यक्रममा गौभक्त तथा पितृभक्तहरूको सहभागिता रहेको थियो।

कार्यक्रमकी प्रमुख अतिथि दाहाल सेवा समाज नेपालकी कार्यवाहक अध्यक्ष श्रीमती सरस्वती दाहालले आफ्ना पितृहरूको नाममा गौमाताको सेवा गर्नु नै ठूलो श्राद्ध भएको बताउनुभयो। उहाँले गौशालामा आश्रय लिइरहेका छाडा छोडिएका १२१ वटा गाईलाई आफ्नै सन्तानसरह माया गरेर पालनपोषण गर्नु सच्चा पितृभक्ति भएको उल्लेख गर्नुभयो। उहाँले पितृप्रतिको श्रद्धा र सेवाभावलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो। त्यसैगरी, विशेष अतिथि हरि ॐ गुरु लक्ष्मण पौडेलले “गावो विश्वस्य मातरः” अर्थात् गाई विश्वकै आमा हुन् भन्ने धार्मिक मान्यतालाई स्मरण गराउँदै गौसेवाको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले गौमाताको सान्निध्यमा पितृ विसर्जन गर्नु धार्मिक तथा आध्यात्मिक दृष्टिले महत्त्वपूर्ण रहेको बताउँदै गौसेवा ३६५ दिन नै निरन्तर चलिरहने सेवाको महायज्ञ भएको धारणा व्यक्त गर्नुभयो।
दिवंगत पितृहरूको सम्झनामा गरिएको यस सेवामूलक कार्यक्रमले गौसंरक्षण, गौपालन र सामाजिक सेवाप्रति थप प्रेरित गरेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण पितृभक्त तथा गौभक्त महानुभावहरूप्रति आयोजकले हृदयदेखि नै आभार व्यक्त गरेको छ।“गौमाता, धर्तीमाता र जन्मदिने माताको सेवा गर्नु नै साँचो पुण्यको सार हो” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले धार्मिक परम्परालाई सेवासँग जोड्दै समाजमा दया, करुणा र मानवीयताको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ। पोखरा गौशाला (गौ आश्रम), पोखरा महानगरपालिका–१५, मजुवाले पितृकार्य, जन्मोत्सव तथा वार्षिकोत्सवजस्ता अवसरमा गौसेवा गर्न चाहने महानुभावहरूलाई गौशालामा आएर सेवामा सहभागी हुन आग्रह गरेको छ।

























