
नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानूनी ठहर गरेको छ । पार्टीका उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालयको आकस्मिक बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको निष्कर्ष निकालेको हो । बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै तत्काल रिहाइको माग गरेका छन् । एमाले अध्यक्ष ओली र कांग्रेस नेता नेता लेखकको गिरफ्तारीको निन्दा र भत्र्सना गर्दै तत्काल रिहाइको माग गर्ने निर्णय भएको पोख्रेलले बताए ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको ठहर गर्दै घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न समेत माग गरेका छन् । राजनीतिक दलहरू, नागरिक समाज र आम जनसमुदायलाई कानूनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि संयुक्त पहलकदमी गर्न अनुरोध गर्ने निर्णय भएको पनि महासचिव पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलका अनुसार गिरफ्तारीको विरोधमा चैत्र १५ गते आईतवार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाइने, पार्टी संवद्ध जनसंगठनहरूले विरोध प्रदर्शनका कार्यक्रमहरू शुरु गर्ने जानकारी दिएका छन् ।



























