पोखरा, १७ असार।
आगामी सेप्टेम्बरमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीमार्फत ३० वटा खेल दर्ता भएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले दर्ता गर्न दिएको समयसीमाभित्र ३० खेलको नाम पठाइएको जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार असार १६ गतेसम्म दर्ताका लागि समयसीमा तोकिएको थियो। सोही अवधिभित्र नेपाल ओलम्पिक कमिटीले नेपालका विभिन्न संघमार्फत ३० खेलको सहभागिता सुनिश्चित गरे पनि बाँकी केही खेलबारे युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय अभावका कारण अन्योल भएको गुनासो गरिएको छ।

महासचिव श्रेष्ठले मन्त्रालयलाई बारम्बार पत्राचार गर्दा पनि कुनै जवाफ प्राप्त नभएको भन्दै खेलाडीहरूका अवसर गुम्न सक्ने चिन्ता व्यक्त गरे। खेलकुद मन्त्रालय र परिषद्ले औपचारिक सिफारिस नगरेकाले दर्ता नभएका खेल समावेश हुन नसक्ने प्रष्ट पारेका छन्। उनले यस्तो संवेदनशील विषयमा सरकारको भूमिका उदासीन रहेको बताए।

त्यस्तै, अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा हुने तेस्रो युथ एसियन गेम्सका सन्दर्भमा समेत मन्त्रालयसँग समन्वय गरिए पनि कुनै जवाफ नआएको जनाइएको छ। नेपाल ओलम्पिक कमिटीले आगामी जुलाई २१ भित्र एसियन गेम्समा सहभागी हुने नेपाली टिमको अन्तिम नाम दर्ता गरिसक्नुपर्ने समयसीमा रहेको बताएको छ।

सरकारले ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको तेस्रो कार्यकाललाई अवैधानिक ठहर गर्दै कुनै सहकार्य नगर्ने अडान राखेको आरोपसमेत कमिटीले लगाएको छ। यसले गर्दा नेपालका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनबाट वञ्चित हुने खतरा देखिएको छ।

खेलकुदका लागि नीतिगत स्पष्टता र सहकार्य आवश्यक रहेको भन्दै कमिटीले सरोकारवाला निकायहरूलाई शीघ्र संवाद र निर्णयमा पुग्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0